धान दिवसमा धादिङमा हिले दौड प्रतियोगिता

 असार १५, २०७६ आइतबार २०:३९:८ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - विर्ताबेसी फाँट, सधेँ सुनसान हुने फाँटमा एकाएक मानिसहरुको भिड बढ्यो । बजारतिर हिड्ने जुलुस खेतको आलीमा पुगेर अडियो । नजिकै खेत हिलाम्मे पारिएको थियो । राष्ट्रिय झण्डा राखेर खेतको आलीमा हिलोमा घुडासम्म डुब्ने स्थानमा उभिएर रेफ्री अमृत तामाङ हिलोमा म्याराथुन गराउन तयारी गर्दै हुनुहुन्थ्यो । 

एक पटक खुट्टा टेकेपछि निकाल्नै कठिन हुनेगरी हिल्याइएको खेतमा ८२ पुरुष र २३ जना महिलाहरुले धान दिवसको अबसरमा आयोजित हिले दौड प्रतियोगितामा भाग लिएका थिए । 

राष्ट्रिय लोक खेल संरक्षण तथा अनुसन्धान संघद्वारा आयोजित हिलेदौड प्रतियोगिताले राष्ट्रिय खेलको संरक्षण गरि हिलो र माटोसँग कृषकको सम्बन्ध स्थापित गराउन प्रतियोगिता गरिएको लोकखेल संरक्षण अभियन्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

 

धान आयात गरेर खाने चलन बढिरहेका बेला धान उत्पादनमा वृद्धि गरी अयात प्रतिस्थापन गर्ने लक्ष राखेर मनाइएको धान दिवसको अभिन्न अंगको रुपमा हिले दौडलाई लिइएको छ । 

हिलाम्मे घुँडा घुँडासम्म आउने हिलो बनाइएको खेतको फाँटमा १ सय भन्दा बढी सहभागिले करिब ३ सय मिटर दौड पुरा गरेर आफ्नो माटोसँग मित्रता गाँसेको बताइरहँदा हिले दौड हेर्न उपस्थित मानिसहरु गम्भीर देखिएका थिए । माइकबाट हिले दौडको सन्देश जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले वाचन गर्दा करिब ५ हजार भन्दा बढी दर्शक चुपचाप बसिरहेका थिए । 

प्रतियोगितामा महिलातर्फ धादिङ नलाङकी सोनी गुरुङ प्रथम, धुनीबेसीका रसिला तामाङ द्वितीय, ललितपुरकी निरजला ताम्राकार तृतीय हुनुभएको छ । 
यसैगरी पुरुषतर्फ संखुवासभाका विकास राइ प्रथम, कैलालका किरण मल्ल द्वीतिय र नेपालगञ्जका खिमबहादुर खत्री तृतीय हुनुभएको छ । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमश ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद, सिल्ड, कप वितरण गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले ३ सय मिटर हिलो खेतमा दौड प्रतियोगितामा भाग लिनेहरुलाई पुरस्कार वितरण गर्नुभयो । 

प्रतियोगितामा महिलातर्फ २३ जना र पुरुष तर्फ ८२ जनाले सहभागिता जनाएका थिए । जसमा एक जना विदेशी नागरिक समेत रहेका थिए । 
राष्ट्रिय लोक खेल संरक्षण तथा अनुसन्धानसंघका अध्यक्ष किरण श्रेष्ठको अध्यक्षतामा सम्पनन समारोहमा पञ्चेबाजासहित दही चिउरा खुवाएर कार्यक्रम सम्पन्न गरिएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया