रेल हेर्न काठमाडौं आउँदा पानीजहाजको दर्शन !

 असार २३, २०७५ शनिबार ७:२८:३० | मिलन तिमिल्सिना
unn.prixa.net

खेत रोपाइँमा व्यस्त आशबहादुरले काठमाडौंमा रेल चल्यो रे भन्ने खबर पाए । उहिल्यै जमानामा बनारस जाँदा पुतुतु धुवाँ फाल्ने रेल चढेका आशबहादुरलाई आफ्नै देशमा सरर रेल चलेको हेर्ने ठूलो रहर छ । 

त्यसमाथि अघिल्लोपटक प्रधानमन्त्री भएदेखि नै केपी ओलीले रेल कुदाउँछु भन्न थालेका । पहिले त कुरा मात्रै होला भनेर पत्यार लाग्दैन थियो । तर अहिले उबेलाको जस्तो अवस्था हैन । जे गर्छु भने पनि गर्न सक्ने बलियो सरकार । दिनहुँ रेल कुदाउने भाषण । भारत र चीन भ्रमणमा जाँदा पनि रेल कुदाउने विषयमै भेटवार्ता । अनि रेल चल्दैन भनेर विश्वास नगर्नेलाई सित्तैमा टिकट दिन्छु भन्ने ओलीको बोली । 

‘अँ अँ भन्...रेल त आइसक्या हैन रैछ, पानीजहाज चाहिँ चल्न थालेछ नि । अहिले जहाजभित्रै छु । घरमै आएपछि बेलिविस्तार लगाउँला है’, आशबहादुरले फोन राखे । 

हरेक दिन रेलकै कुरा सुनेर दंग परेका आशबहादुरलाई गाउँमै कसैले काठमाडौंमा रेल चल्न थाल्यो रे भन्ने खबर सुनाइदियो । जिन्दगीमा एकफेर आफ्नै देशमा रेल कुदेको हेर्ने र मौका मिले एकपटक चढ्ने धोको बनाएर बसेका आशबहादुर फुरुंग भए ।

आली लगाउँदा लगाउँदै खेतमै कोदाली मिल्काएर उनी रेल हेर्न भनेर काठमाडौं जाने गाडी चढे । ओली सरकारले यातायातको सिन्डिकेट हटाएको भन्ने खबर पनि सुनेका थिए । अब त पहिलेजस्तो कोचिएर, हप्कीदप्की सहेर यात्रा गर्नु पर्दैन होला भन्ने विश्वास थियो । तर गाडीमा कोचाकोच र गाडीवालाको व्यवहार उस्तै । काठमाडौंबाट सुरु भएको परिवर्तन गाउँसम्म पुग्न त समय लागिहाल्छ नि, शहरमा त पक्कै सिन्डिकेट हटेको होला भनेर उनी चुप लागे ।

बस नारायणघाटबाट अघि बढ्यो । मुग्लिनसम्म पुग्ने बाटो पहिलेको भन्दा चिल्लो र फराकिलो । ‘ओहो ठूलै विकास भैसकेछ, सायद रक्सौलबाट काठमाडौंसम्म पुग्ने भनेको रेल पनि यही बाटो कुद्ने होला । एकातिरबाट गाडी सरर, अर्कोतिरबाट रेल सलल’ आशबहादुर सम्झेर गद्गद् भए । 

गाडीमा बसेर रेल चलेको सम्झँदै गर्दा ड्राइभरले ब्रेक लगाए । ‘लौ फेरि पहिरो खस्यो रे, आज पनि दिनभर यतै बास हुने भयो’, भन्दै सहचालकले बसको ढोका खोले । मस्त अढेस लगाएर बसेका यात्रु हात तन्काउँदै उठे, ‘उफ् यो बाटो हिँड्दा कहिल्यै सुख नपाइने भयो ।’

अघिल्तिर गाडीको ताँती । सडकभरी मान्छे । न खानेकुराको ठेगान, न दिसापिसाब गर्ने ठाउँ । आशबहादुर सिटबाट उठे । अघिदेखि नै पिसाबले च्यापेको थियो । पिसाब गर्ने खुला ठाउँ कतै थिएन । अरुजस्तै उनी पनि सडकको कुनातिर फर्किए र पिसाब गरे । अलि परसम्म पुगे । पहिरो खुल्ने सम्भावना थिएन ।

‘पानीजहाज भन्या रैछन्, रेल सुनेछु, पानीजहाज चल्न थालेपछि रेल पनि चलिहाल्छ नि छिट्टै’ मनमनले सोच्दै आशबहादुर भतिजको पछि लागे ।

‘यहाँसम्म समृद्धि आउन बाँकी होला, एकैपटक सबैतिर पुग्ने कुरो पनि त भएन नि, जसोतसो काठमाडौंसम्म पुग्न पाए धित मर्नेगरी रेल पनि हेरिन्छ, समृद्धि पनि देखिन्छ’ आशबहादुरको मनमा फेरि आश पलायो । उनी बसभित्र पसे । गर्मी र छटपटी भए पनि काठमाडौं सम्झेर बस्दा उनको समय कट्यो ।

राति बल्लतल्ल जाम खुल्यो । जाम खुले पनि मुग्लिन कट्न अर्को दुई घण्टा लाग्यो । भोलिपल्ट बिहानै बस नागढुंगा पुग्यो । दाहिनेतिर हरियाली वन, माथि चन्द्रागिरी डाँडो, जताततै घरैघर, सुकिला मान्छेहरुको ताँती देखिन थालेपछि आशबहादुर फुरुंग भए । अब रेल पनि देख्न पाइएला भन्ने आशले झ्यालबाट बाहिर हेर्न थाले । नागढुंगा कटेपछि गाडीले उफार्न थाल्यो । दायाँबायाँ जता हेरे पनि हिलैहिलो र खाल्डैखाल्डो । वरपरका घरमा धुलैधुलो टाँसिएको । मुग्लिनमा जस्तै जाम । कलंकी पुग्नै मुश्किल । 

तैपनि आशबहादुरको आश मरेन । रेल र समृद्धि कलंकीबाट बाहिर निस्कन बाँकी नै होला नि, कलंकीबाट चक्रपथ पसेपछि देखिएला भन्ने लाग्यो । कलंकीमा बसबाट ओर्लेपछि यताउति हेरे । सडक फराकिलो बन्दैछ । चोकमा जमिनमुनिबाट गाडी गुड्न मिल्ने बाटो पनि बनेछ । जताततै गाडी नै गाडीको ताँती । तैपनि रेल देखिंदैन । 

‘खै त रेल ?’ आशबहादुरले यताउता हेरे । मान्छेको खैलाबैला, गाडीको घ्यारघ्यार, हिलो, धुलो र धुवाँ बाहेक अरु केही देखिएन ।

‘ओहो ठूला बा दर्शन गरेँ’, आवाज सुनेर आशबहादुर झसँग भए । तल्लोघरका भतिज रहेछन् ।

‘कहिले आउनुभो काठमाडौं, अनि कता हिँड्नुभएको ?’ भतिजले सोध्नेबित्तिकै आशबहादुरले जवाफ फर्काए, ‘भर्खरै आइपुगेको नि, खै त रेल चलेको छ भन्या हैन

काठमाडौंमा ? त्यही हेर्न आएको देखिंदैन त ।’

ठूलाबाको कुरा सुनेर भतिज हाँसे । ‘ए हो र ठूलो बा, रेल चाहिँ होइन, पानीजहाज चल्न थालेको छ, ल हिँड्नुहोस् म देखाइदिन्छु’ भतिजले भने ।

भतिजको कुरा सुनेर आशबहादुर चकित परे । ‘पानीजहाज भन्या रैछन्, रेल सुनेछु, पानीजहाज चल्न थालेपछि रेल पनि चलिहाल्छ नि छिट्टै’ मनमनले सोच्दै आशबहादुर भतिजको पछि लागे ।

ठूलोबा र भतिज माइक्रोबस खोज्दै चोक कटेर पर पुगे । सिट भरिभराउ, खुट्टा राख्ने ठाउँ पनि थिएन । ‘ओहो यसमा त कसरी जाने भतिज ?’ ठूलोबाको कुरा सुनेर भतिजले भने, ‘जसरी पनि जानुपर्छ ठूलाबा, सिट पाउन त त्यस्तै हो ।’

‘अनि सिन्डिकेट हट्यो, अब सुविधा भयो भन्ने पो सुन्या थियौं त हामीले गाउँमा’ ठूलाबाले भने ।

‘यही हो ठूलाबा सिन्डिकेट हट्या भनेको, भनेको बेला गाडी पाइँदैन, गाडी पाए पनि सिट भेटिंदैन’ भतिजले वास्तविकता सुनाए ।

ठूलो बा र भतिज माइक्रोबसमा बल्लतल्ल खाँदिएर चाबहिल पुगे । ‘अब हेर्दै गर्नुहोस् ठूलो बा पानीजहाज देखिन्छ’ भतिजले भने ।

माइक्रोबस बौद्ध–जोरपाटीतर्फ अगाडि बढ्यो । सडकमा नागढुंगा–कलंकीमा भन्दा ठूला खाल्डा । पोखरी र खोलाजस्तो सडकमा पानी छ्याप्दै गाडी गुडेका छन् । मोटरसाइकलमा सवार मान्छेको टाउको मात्र देखिन्छ । गाडीको पाङ्ग्रा देखिंदैन । कोही हिलोमा पसेर फसेको गाडी निकाल्दैछन् । कोही सलललल गाडीमा गुड्दैछन् । 

‘देख्नु भो नि ठूला बा, पानीजहाज । रेल त पहिले पनि चढ्नुभाथ्यो होला, जहाज कहिल्यै चढ्नुभएको थियो ?’ भतिजले सोधे ।

‘थिएन नि बाबु, तर यो त गाडी पो हो त, जहाज जस्तो त लागेन नि ?’ आशबहादुरले आशंका गरे ।

‘ल ठूला बा, यसलाई नेपाली पानीजहाज भनिन्छ । अब रेल पनि यहीँ कुद्छ, जहाज पनि सँगसँगै चल्छ ’ भतिजोले भने ।

त्यहीबेला आशबहादुरको कोटभित्र मोबाइलको घण्टी बज्यो ।

‘अँ अँ भन्...रेल त आइसक्या हैन रैछ, पानीजहाज चाहिँ चल्न थालेछ नि । अहिले जहाजभित्रै छु । घरमै आएपछि बेलिविस्तार लगाउँला है’, आशबहादुरले फोन राखे । 

माइक्रोबसमा रहेको रेडियोमा समाचार बज्दैथियो – प्रधानमन्त्री केपी शर्मा ओलीले सुखी नेपाली, समृद्ध नेपाल अभियान अघि बढिसकेको भन्दै रेल चल्छ भनेर विश्वास नगर्नेहरुलाई सित्तैमा टिकट दिने र पुससम्म पानीजहाज पनि चढाउने बताउनुभएको छ । 
 

अन्तिम अपडेट: असोज ३१, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

7 Comments

तपाईको प्रतिक्रिया