सजिलो छैन इंग्ल्याण्डलाई स्विडेनसँगको खेल

 असार २३, २०७५ शनिबार ८:२३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप सुरु हुनुअघि स्विडेनलाई दावेदार टोली मानिएको थिएन । ज्लाटन इब्राहिमोबीचको सन्यासपछि स्विडेनमा स्टार खेलाडीको अभाव खड्किएसँगै उसले ठूला प्रतियोगितामा स्वभाविक दावेदारी दिन सकेन । तर, स्वीडेनको टिम गेम हेर्दा र क्वार्टरफाइनलसम्मको यात्रा विश्लेषण गर्दा उसले पनि विश्वकपको उपाधिमा आफ्नो दावेदारिता पेश गरिसकेको छ । 

सन् १९९४ मा तेस्रो भएको स्विडेन त्यसयता पहिलो पटक क्वार्टरफाइनलमा पुगेको छ र सेमिफाइनल प्रवेशका लागि आज रुसको सामारा एरिनामा इंग्ल्याण्डको सामना गर्न तयार छ ।
 
सन् १९६६ को विजेता इंल्याण्ड हरेक विश्वकपमा दावेदार टोलीका रुपमा रहन्छ । तर, विश्वकपको नकआउट यात्रा उसका लागि पछिल्ला ७ संस्करणदेखि सहज बन्न सकेको छैन । सन् १९९० को विश्वकपमा चौथो भएको इंग्लिस टोलीले त्यसयता क्वार्टरफाइनल पार गर्न सकेको छैन । फुटबलको जन्मदाता दावी गर्ने इंग्ल्याण्ड विश्वकप इतिहासमै यसअघि मात्र २ पटक सेमिफाइनलमा पुगेको छ ।
 
इंग्लिस डिफेण्डर जोन स्टोन्स विश्वकप उपाधिको सपना देखिरहेका छन् तर उनले बुझेका छन् कि सामारा एरिनामा सेमिफाइनल प्रवेशका लागि हुने खेलमा स्विडेनले उनको टोलीलाई ठूलो चुनौती पेश गरेको छ ।
 
जेनी एण्डरसनको टोलीले मंगलबारको पहिलो खेलमा स्विट्जरल्याण्डलाई १–० ले हराएर अन्तिम आठमा स्थान बनाएको हो । इमिल फोर्सबर्गले विश्वकपमा आफ्नो पहिलो गोल दोस्रो हाफमा गरेपछि स्विडेनले खेल जितेको हो ।
 
त्यसको केही घण्टापछि मस्कोको स्पार्टाक एरिनामा एक–एक को बराबरीपछि पेनाल्टी शुटआउटमा इंग्ल्याण्डले कोलम्बियालाई हरायो ।
 
पछिल्ला दुई संस्करण दक्षिण अफ्रिका र ब्राजिलमा निराशाजनक प्रर्दशन पछि जारी विश्वकपको क्वार्टरफाइनलसम्मको यात्राले देशमा नयाँ आशा र अपेक्षाको सञ्चार भएको छ ।
 
कोलम्बियाविरुद्धको खेलमा स्टोन्सले शानदार प्रदर्शन गरेका थिए । उनले विश्वकपको सपना देखेका छन्, तर, स्विडेनजस्तो निखारिएको टोलीविरुद्धको प्रतिस्पर्धाअघि उनी केही डराएका छन् ।
 
‘मैले सुरुदेखि नै भन्दै आएको छु कि म विश्वकप जित्न चाहन्छु, मेरो सपना नै यही हो’, पत्रकार सम्मेलनमा स्टोन्सले भने, ‘यो त्यही हो जो हामी चाहन्छौँ, हामी यहाँ विश्वकप जित्ने प्रयास गर्न आएका हौँ ।’
 
‘म इंग्ल्याण्डले विश्वकप जितेको हेर्न चाहन्छु । किनभने हामीले यो उपाधि जित्न नसकेको लामो समय भइसक्यो । हामी मानिसहरुलाई इंग्लिस टिमप्रति गर्व गर्ने बनाउन चाहन्छौं’, उनले भने । 
 
‘यस्तो गर्नका लागि हामी एक कदम टाढा छौँ, र हामी यो पनि जान्दछौँ कि हाम्रा अगाडि म्याच छ । हामी अहिले स्विडेनविरुद्धको खेलका लागि मात्रै केन्द्रित हुनुपर्छ । एउटा समयमा हामी त्यहाँबाट अघि बढ्नुपर्छ ।’
 
‘यो सहज खेल पक्कै होइन । मेरो विचारमा तपाईँले विश्वकपको क्वार्टरफाइनल चरणमा यसलाई सहज खेल मान्नुहुन्छ भने तपाईँ मुर्ख भइराख्नुभएको छ । उनीहरुसँग थुप्रै प्रतिभा छन् ।’
 
‘हामी स्विडिस टिमको सम्मान गछौं । खेलको मिति नजिकिँदै जाँदा हामीले उनीहरुबारे धेरै रिसर्च गरेका छौं । एउटा कुरा के निश्चित हो भने हामी अवसरको खोजीमा हुनेछौँ र पाउनेबित्तिकै सदुपयोग गरिहाल्छौं’, उनले भने । 
 
पछिल्लो पटक सन् १९९० को विश्वकपमा सेमिफाइनलमा पुगेको इंग्ल्याण्डले स्विडेनविरुद्धको १३ खेलमा मात्र ३ जित हासिल गरेको छ । यद्यपि केही समर्थकहरु सोच्छन कि स्वीडेन कमजोर प्रतिस्पर्धी हो ।
 
स्विडिस कप्तान आन्द्रेस ग्रान्क्भिस्टले भनेका छन्, ‘यसबारे मैले कतै पढेका थिएँ, इंग्लिस पत्रिकाहरुले ९९ प्रतिशत जितको दावी गरिरहेका छन् । उनीहरुको यो महत्वाकांक्षा हेर्न लायक छ । हेरौँ खेलमा के हुनेछ ।’
 
‘हामीलाई थाहा छ कि स्विडेन आम रुपमा इंग्ल्याण्डविरुद्ध राम्रो प्रदर्शन गर्छ । हामीसँग उनीहरुविरुद्ध राम्रो नतिजा छ । र, यस्ता अफवाहहरुले हामीलाई केही फरक पार्दैन’, उनले भने । 
 
स्विडेनको रक्षापंक्तिमा ग्रान्क्भिष्टलाई दायाँपट्टि साथ दिने मिकेल लस्टिङ दुई पहेँलो कार्डका कारण आजको खेलमा हुने छैनन् । त्यस्तै इंग्ल्याण्डका जेमी भार्डीको ग्रोइन इन्ज्यूरीका कारण चिन्तित छन् । उनको चोट गम्भीर छ त्यसैले उनले कोलम्बियाविरुद्ध पेनाल्टी प्रहार गरेका थिएनन् । उनी आजको खेलमा उपस्थित हुने निश्चित छैन ।

प्लेयर्स टु वाच

मार्कस बर्ग – स्विडेन
 
मार्कसले अहिलेसम्म विश्वकपमा स्विडिस टोलीका लागि गोल गर्न सकेका छैनन् । तर, इंग्लिस टोलीले उनलाई हल्का रुपमा लियो भने उसका लागि प्रत्युत्पादक हुन सक्छ । स्मरणीय के छ भने ३१ वर्षीय स्ट्राइकर बर्गले पछिल्लो पाँच सिजनमा पानाथिनाइकोस र अल एनका लागि १३७ खेलमा ९८ गोल गरेका छन् ।

कियरन ट्रिपर – इंग्ल्याण्ड

ह्यारी केन, रहिम स्टिर्लिङ र जेसे लिंगार्ड, यी तीन स्टारलाई इग्ल्याण्डको रक्षाप्रक्तिको प्रमुख हतियार मानिनछ । तर, विङ–ब्याकको रुपमा ट्रिपरको प्रदर्शन जारी विश्वकपमा शानदार देखिएको छ । टोटनह्यामका स्टार ट्रिपर रक्षात्मक रुपमा उत्कृष्ट देखिएका छन् साथै मध्य क्षेत्रबाट बल अघि बढाउन र स्ट्राइकरलाई पास उपलब्ध गराउन खप्पिस छन् ।

म्याच फ्याक्ट्स

– स्विडेन र इंग्ल्याण्डबीच २५ खेल भएका छन् र ८ खेल इंग्ल्याण्ड तथा ७ खेल स्वीडेनले जितेको छ । ९ खेल बराबरीमा सकिएको छ ।
 
– दुईबीच विश्वकपमा यो तेस्रो भेट हो, यसअघि भएका दुवै खेल बराबरीमा सकिएका थिए । सन् २००२ मा १–१ को बराबरी खेलेका यी टोलीले सन् २००६ मा २–२ गोलको बराबरी खेलेका थिए ।
 
– इंग्ल्याण्ड आफ्नो विश्वकप इतिहासमै मात्र दुई पटक सेमिफाइनलमा पुगेको छ । सन् १९६६ मा उपाधि जितेको इंग्ल्याण्ड १९९० मा चौथो भएको थियो ।
 
– ह्यारी केनले विश्वकपमा गरेका ६ शट अन टार्गेटमा ६ गोल नै गरेका छन् । जसमध्ये तीन गोल पेनाल्टीमा सम्भव भएको हो । विश्वकपमा पेनाल्टीमा ३ गोल गर्ने उनी दोस्रो खेलाडी बनेका छन् । सन् १९९४ मा बुल्गेरिकाका रिस्तो स्टोच्कोभले पेनाल्टीमा ३ गोल गरेका थिए ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया