भारतीय प्रशासनको अवराेधका कारण जोगबनी नाकामा १५ दिनदेखि समस्या

 असार १७, २०७६ मंगलबार २०:२६:३५ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - नेपाल–भारत सीमा क्षेत्र जोगबनीमा गएकाे १५ दिनदेखि विभिन्न नाममा अवरोध हुँदै आएको छ ।

भारतीय पक्षका केही नागरिक समाजका अगुवा भन्नेहरुले सडक स्तरोन्नति गर्नुपर्ने माग गर्दै जोगवनी नाका ठप्प पारे । त्यसको केही दिनपछि फेरि  स्थानीयले अत्याधिक भिडभाड भयो भन्दै त्यहाँ सवारीका साधनहरुलाई व्यवस्थित गराउन भने ।

त्यसलाई भारतीय प्रशासनले सुनुवाइ गर्ने भन्दै स्थानीयसँग बार्ता गरेपछि जोगबनीका स्थानीयले आन्दोलन फिर्ता लिए ।  त्यसलाई सम्बोधन गर्न गएकाे शुक्रबारदेखि नेपालले प्रयोग गर्दै आएको जोगबनीको रुटबाट खाली मालवाहक सवारी साधन लैजान रोक लगायो । त्यसले फेरि नेपाललाई नै मालवाहक सवारी साधन ओहोर दोहोरमा समस्या निम्त्यायो ।

जोगबनी नाकाबाट दैनिक ३ सयभन्दा बढी मालवाहक सवारी साधनहरु आउजाउ गर्नेमा भारतीय पक्षले रोक लगाएपछि दैनिक ७ वटासम्म मात्र मालवाहक सवारीहरु नेपाल भित्रने गरेका छन् ।  

सीमावर्ती भारतीय बजार जोगबनीको स्थानीय प्रशासनले नेपाल–भारत पारवहन सन्धि र बीबीआईएन पारवहन सन्धिविरुद्ध जोगबनी–विराटनगर नाकाबाट आवत–जावतमा रोक लगाएको हो । भारततर्फ अवरोध भएका कारण जोगवनी रेल्वे स्टेशनसम्म औद्योगिक कच्चा पदार्थ लिन मालवाहक सवारी साधनहरु जान पाएका छैनन् ।

खाली मालवाहक सवारी साधनलाई साँझ ७ बजेदेखि ९ बजेसम्म दुई घण्टा मात्र जान दिइएको छ । बाँकी सवारी साधनहरु सडकमै राख्ने गरेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

नेपालले पारवहनको सुविधा पाएको जोगबनी रुट भएर जाने खाली सवारी साधनलाई रोक लगाएकाले अत्यावश्यक इन्धन ढुवानी गर्ने सवारी साधन पनि जान पाएका छैनन् । भारततर्फ फारबिसगञ्ज प्रशासनले परिपत्र नै पठाएर रोक लगाएको हो । परिपत्रमा जोगबनी बजारमा भएको जाम कम गर्नका लागि सवारी साधन रोक्नु परेको बताइएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी  रमेशकुमार केसीले भारतीय पक्षले अप्ठेरो पार्ने खालको निर्णय गरेपछि त्यो बारेमा बसेर पटक पटक छलफल भएको बताउनुभयाे । ‘विभिन्न बहानामा गएकाे २ हप्तादेखि विराटनगर भन्सारमा समस्या हुँदै आएको छ’, प्रमुख जिल्ला अधिकारी केसीले भन्नुभयाे, ‘भारतीय पक्षले आजदेखि सहज गर्छु भनेको छ, सायद भोलिदेखि केही समस्या समाधान होला ।’

आईसीपीबाट सवारी साधनहरु छुटाउने र जोगबनी नाकालाई लोड कम गर्ने बारेमा छलफल भए पनि आईसीपी निर्माण कम्पनीले भारतीय पराराष्ट्र मन्त्रालयको आदेश मागेपछि त्यो विकल्प पनि तत्काललाई तुहिएको छ ।आईसीपी निर्माण भएर पनि सञ्चालन नहुने अनि जोगबनीमा भिड व्यवस्थापनको लागि भन्दै स्थानीय प्रशासनले सवारी आउजाउमा कडाइ गर्न थालेपछि त्यसको असर नेपालमा पनि परेको हो । 

आर्थिक वर्षको मुखमा भएको असहजताले राजश्वमा त असर गर्छ । सजिलाे आवागमनको व्यवस्था मिलाउने बारेमा भन्सार कार्यालयले भन्सार विभाग र विणिज्य विभागलाई समस्याको बारेमा जानकारी गराइसकेको छ ।

समस्याका बीचमा पनि रित्ता इन्धन बोक्ने ट्याङ्करलाई पहिलो चरणमा पठाउन भनिएको र बुधबारदेखि सहज भएको अवस्थामा  मालवाहक गाडीहरुलाई पनि  सवस्थित गर्दै पठाइने प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया