किन सक्रिय भएन मनसुन ?

 असार १८, २०७६ बुधबार ११:११:२७ | अशाेक काेइराला
unn.prixa.net

काठमाण्डौ – सामान्य अवस्थाभन्दा केही दिन ढिलो गरी सुरु भएको यो वर्षको मनसुन अझै सक्रिय हुन सकेको छैन । 

सामान्य समयभन्दा १० दिन ढिलो गरी गएको असार ५ गतेदेखि नेपालको पूर्वी भागमा प्रवेश गरेको मनसुन पूर्णरुपमा सक्रिय हुन नसक्दा राम्रो वर्षा हुन सकेको छैन । मध्य असार भइसक्दासमेत वर्षा नहुँदा किसानहरुले धान रोप्न पाएका छैनन् । मनसुन सुरु भएसँगै मौसममा केही फेरबदल भए पनि पर्याप्त मात्रामा वर्षा  भने भएको छैन । सामान्यतया पहाडी भूभागमा दिउँसोपछि सामान्य वर्षा भए पनि ठूलो पानी पर्न सकेको छैन ।

मनसुन अहिले कमजोर अवस्थामा छ । अझै केही दिन सक्रिय हुने सम्भावना नदेखिएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘नेपालमा मनसुन भित्रिए पनि सुरुवाती दिनहरुबाटै कमजोर छ । न्यूनचापीय रेखा मध्य भारततिर रहेकाले नेपालमा मनसुन कमजोर भएको हो ।’ 

मौसमविद् प्रधानाङ्गका अनुसार मनसुनी वर्षा ठूलो क्षेत्र ओगटेर हुने गर्छ । मनसुनको समयमा जमिन तातेपछि पानीका कण बोकेको हावाले निश्चित ठाउँमा एउटा प्रणालीको विकास गराउँछ र वर्षा हुन्छ । यो समयमा ठाउँ–ठाउँमा तातेको जमिनमाथिको जलवाष्पयुक्त हावाले वायूमण्डललाई जोडेर काल्पनिक रेखा बन्छ । मौसम विज्ञानको भाषामा यसैलाई न्यूनचापीय रेखा भनेर बुझ्ने गरिन्छ । कुनै ठाउँमा जमिनको सतहको हावा तातेर माथि गई बादल बन्यो भने त्यसलाई न्यूनचापीय प्रणाली भनिन्छ ।

भारतको मध्यतिर रहेको न्यूनचापीय रेखा विस्तारै माथितिर सर्ने र नेपालतर्फ आएपछि मात्र नेपालमा मनसुनी वर्षा सक्रिय हुनेछ । यसका लागि अझै केही दिन लाग्ने माैसमविद्हरुकाे भनाइ छ ।

मौसम विभागले पछिल्लो ३० वर्षको तथ्यांकलाई आधार मानेर नेपालमा सरदर मनसुन आउने मिति जुन १० लाई मानेको छ । यसैका आधारमा यो वर्षको मनसुन १० दिन ढिलो गरी जुन २० मा मात्रै नेपाल भित्रिएको थियो । 

नेपालमा साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । यो समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्छ । सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने यो भन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मानिन्छ । 

दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले यसअघि यो वर्षको मनसुन कस्तो हुन्छ भन्नेबारेमा गरेको अध्ययनमा नेपालको प्रदेश १, प्रदेश २, प्रदेश ३ र प्रदेश ५ को  केही पश्चिमी  भू–भागहरुमा औसत भन्दा कम मनसुनी वर्षा हुने अनुमान गरेको थियो भने बाँकी गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा औसत वर्षा हुने अनुमान गरेको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

अशाेक काेइराला

अशाेक काेइराला वातावरण क्षेत्रमा रुची राख्नु हुन्छ।  

1 Comments

  • Gopal timalsina

    July 5, 2019, 3:03 p.m.

    अब कहिलेदेखि मनसुन सक्रिय हुन्छ ? Thank you

  •  0 Reply

तपाईको प्रतिक्रिया