उद्यमी महिलाले चलाए गाउँमै बाख्रा संकलन तथा बिक्री केन्द्र : उत्पादनले उचित बजार र मूल्य पायो

 असार १९, २०७६ बिहिबार १३:३८:९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–१, कुन्छामा रहेको भागिरथी सामाजिक उद्यमी महिला संस्था लिमिटेडले बाख्रा संकलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।

केन्द्र सञ्चालनमा आएसँगै उत्पादनले गाउँमै उचित मूल्य र बजार पाएको संस्थाकी संस्थापक अध्यक्ष सन्तोषी गौलीले बताउनुभयो । ‘पहिले उत्पादनले खासै मूल्यर बजार पाएको थिएन । बाख्रा संकलन केन्द्रबाटै स्थानीयले आफ्नो उत्पादन बेच्दा उचित मूल्य पाएका छन्’, उहाँले भन्नुभयो, ‘किसानलाई फाइदा भएको छ । उत्पादनको बजारको ग्यारेण्टी भएको छ ।’ 

उहाँका अनुसार स्थानीयले केन्द्रमा उत्पादित खसीबोका ल्याउँछन् । संकलन केन्द्रमै व्यापारी आएर उत्पादन किनेर लैजान्छन् । ‘उत्पादनले उचित मूल्य र बजार पाएसँगै बाख्रापालनमा किसानको आकर्षण बढेको छ’, उहाँले थप्नुभयो ।

३५ जना महिला सदस्यबाट २०७२ सालबाट सुरु भएको यस सहकारीमा अहिले ३ सय ११ जना महिला सदस्य रहेका छन् । सहकारीमा आवद्ध सबै महिला सदस्यहरुको गरी हाल १५ सय ६१ बाख्रा रहेको सहकारीका सचिव कोपिला मल्लले बताउनुभएको छ ।

उहाँका अनुसार ६ सय ३ माउबाख्रा, ३ सय ८५ पाठी, ३ सय ५७ पाठा र २ सय १६ खसीबोका गरी १५ सय ६१ बाख्रा रहेका छन् । संकलन केन्द्रमा संकलित २० केजीसम्मका खसीबोका प्रतिकेजी ४ सय रुपैयाँ २० केजीभन्दा बढी खसीबोका प्रतिकेजी ४ सय ५० रुपैयाँ दरमा व्यापारीलाई बिक्री गर्दै आएका छन् ।

उत्पादन सुन्दरबजार, खत्रीठाँटी, भोटेओडार र उदीपुरमा खपत हुँदै आएको छ । खरिदकर्ताले खसीबोकाको प्रतिकेजी ५ रुपैयाँ दरले सहकारीलाई शुल्क बुझाउँछन् ।  सहकारीकी बजार प्रतिनिधि मेलिना श्रेष्ठका सहकारीमा आवद्ध सदस्यले प्रत्येक महिना आफ्नो शेयर रकमअनुसार बचत गर्छन् । ३ हजार शेयर रकम हुनेले मासिक ३ सय र २ हजार रकम हुनेले मासिक २ सय रुपैयाँ बचत गर्छन् ।

सहकारीले तरकारी खेती गर्न चाहने सदस्यलाई ६ प्रतिशत ब्याजमा ५०-५० हजार रुपैयाँ लगानी गर्ने गरेको छ । ‘वर्षमा पहिलो ६ महिनामा २ जना र पछिल्लो ६ महिनामा २ जना गरी वर्षमा चार जनालाई तरकारी खेतीका लागि ६ प्रतिशत ब्याजमा ५०-५० हजार उपलव्ध गराउँदै आएका छौँ’, उहाँले भन्नुभयो ।

यसैगरी, सहकारीले बाख्रापालनमा १२ प्रतिशत ब्याजमा बिनाधितो २ लाख रुपैयाँ र अन्य व्यवसाय सञ्चालनका लागि १५ प्रतिशत ब्याजमा २ लाखम्म ऋण प्रवाह गर्दै आएको छ ।

विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोगमा सहकारीले आफ्नो भवनबनाएको छ । भवनमै बाख्रा संकलन केन्द्र बनिरहेको छ । संकलन केन्द्र निर्माणमा विभिन्न निकायले सहयोग गरेका छन् ।

‘बाख्रा संकलन गर्न र बिक्री गर्न सहज होस् भनेर बाख्रा संकलन केन्द्र बनाएका हौँ’, सहकारीले भनेको छ, ‘सकंलन केन्द्रमा बाख्रा बस्ने ठाउँका साथै घाँस, कुँडोपानी हाल्ने ठाउँ बनिरहको छ ।’

संकलन केन्द्रमा सहकारीमा आवद्ध नभएका अन्य स्थानीय किसानले पनि संकलन केन्द्रमा उत्पाद नल्याइ बेच्न सक्ने व्यवस्था मिलाइएको छ । 

महिलाहरुद्वारा सञ्चालित सहकारीले सञ्चालनमाल्याएको बाख्रा संकलन केन्द्रले किसानको उत्पादनको बजारको ‘ग्यारेण्टी’ गरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो ।

‘बाख्रा संकलन तथा बिक्री केन्द्र सञ्चालनमा आएसँगै किसानको उत्पादनले उचित मूल्य र बजार पाएको छ’, उहाँले भन्नुभयो, ‘त्यसैले पनि गाउँमा बाख्रापालनमा किसानको आकर्षण बढ्दै गएको छ । केन्द्रको प्रवद्धर्नका लागि केन्द्रले आवश्यक सहयोग गर्नेछ ।’

आवश्यक ज्ञान, सीपका साथै मनमा जोस जाँगर लिएर व्यावसायिक ढंगले बाख्रापालनमा लाग्न सके यसबाट मनग्य कमाउन सकिने केन्द्रका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले बताउनुभयो ।

‘बजारमा खसीबोकाको मासुको माग बढ्दो छ । यसको बजार मूल्य पनि राम्रो छ । त्यसैले व्यावसायिक ढंगले बाख्रापालनगर्न सके मनग्य कमाउन सकिन्छ’, उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया