रित गौतमको शतकमा नेपालले सिंगापुरलाई दियो ३२७ रनको लक्ष्य

 असार २०, २०७६ शुक्रबार ११:२०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

रित गौतमको शतक र कुशल मल्लको विष्फोटक अर्धशतकमा एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत नेपालले सिंगापुरलाई ३२७ रनको विजय लक्ष्य दिएको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३२६ रनको विशाल योगफल खडा गरेको हो ।

सिंगापुरले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ । पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको साविक विजेता नेपालले यस खेलमा जित हासिल गरे समूह ए को विजेता बन्नेछ ।

ओपनर रित गौतमको सानदार शतक र खडग बहादुर बोहोराले ९० रनको पारी खेलेपछि नेपालले विशाल योगफल बनाएको हो ।

ओपनर रित र पवन सर्राफले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । पवन ४५ रनको स्कोरमा आउट भएपछि आएका खडगसँग मिलेर रितले १३१ रनको शतकीय साझेदारी गरी पारी उकासे ।

४०औं ओभरमा खडग ९० बलमा ९० रन बनाएर आउट भए । शतक बनाउनबाट गर्न चुकेका उनले १२ चौका प्रहार गरे । त्यसपछि आएका विशाल विक्रम केसी र कप्तान रोहित कुमार पौडेलले क्रमसः १ र ७ रनमात्र जोड्न सके ।

पाँचौं नम्बरमा आएर कुशल मल्लले विष्फोटक ब्याटिङ गरेपछि नेपालले ३०० रनको योगफल पार गरेको हो । ४७.१ ओभरमा रितले १३१ बलमा शतक प्रहार गरे । उनले डीप स्क्वायर लेगमा चौका प्रहार गरी शतक बनाएका हुन् । रितले १३७ बलमा ११५ रनको अविजित शतकीय पारी खेले ।

कुशलले २३ बलमा ५१ रनको विष्फोटक अर्धशतकीय पारी खेले । पारीको अन्तिम ओभरमा सिंगापुरका बलर प्रणव सुदर्शनको बलमा ४ चौका र १ छक्का प्रहार गरी उनले अर्धशतक पूरा गरेका हुन् ।

बलिङतर्फ सिंगापुरका प्रणव र विनित मेहताले २–२ विकेट लिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया