सा‌ंस्कृतिक सम्पदाको संरक्षण गर्दै षडानन्द नगरपालिका

 असार २१, २०७६ शनिबार १२:२१:५६ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर –  षडानन्द नगरपालिकाले नगर क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलहरुको संरक्षण सुरु गरेको छ ।आबाल बह्मचारी षडानन्द अधिकारीले स्थापना गर्नु भएका विभिन्न मन्दिर, पाटी, पौवा तथा कुण्डहरुको संरक्षणलाई नगरपालिकाले तीव्रता दिएको छ । 

नगरपालिका क्षेत्रभित्र रहेका पुरातात्विक तथा मौलिक सम्पदाहरुका समष्टिगत संरक्षण तथा विकास गर्ने उद्देश्यले काम सुरु गरिएको नगरपालिका उपप्रमुख मेरिका राईले बताउनुभयो । 

उदाहरणका रुपमा दिङ्लामा रहेको षडानन्द अधिकारीले स्थापना गर्नु भएको रामचन्द्र मन्दिरलाई हेर्न सकिने उहाँले बताउनुभयो । मन्दिरको संरक्षणका लागि षडानन्द नगरपालिकाको पहलमा प्रदेश सरकारको ४० लाखको लागतमा मन्दिरको वरिपरि ढुङ्गा छाप्ने काम भएको छ । त्यस्तै नगरपालिकाको ८ लाख लागतमा मन्दिरको वरिपरि रथ घुम्ने मिल्ने गरी पक्की बाटो निमार्ण भएको उपप्रमुख राईले बताउनुभयो । उपमेयर राईले भन्नुभयो, ‘त्यति मात्रै हैन कैलाश मन्दिर जानको लागि समेत नगरपालिकाकै लगानीमा रेलिङसहित सिँढी निमार्ण गरेका छौँ र पुरानो भत्किएको पाटीलाई पुनः निमार्ण गर्नका लागि कामको थालनी गरिसकेका छौँ ।’

सिँढी निर्माण सम्पन्न भएपछि मन्दिरसहित कैलाश मन्दिरमा पूजाआजा गर्न जाने भक्तजन तथा घुम्न आउने पर्यटकलाई समेत सहज हुने नगरपालिकाले जनाएको छ ।आबाल ब्रह्मचारी षडानन्द अधिकारीले डेढ सय वर्षअघि मन्दिरको स्थापना गर्नु भएको थियो ।

दशक लामो समयसम्म संरक्षणविहीन रामचन्द्र मन्दिरले जनप्रतिनिधि आएपछि रुप फेरेको स्थानीयले बताएका छन् । स्थानीयहरु भन्छन्, ‘नगरपालिकाले लगानी गरेर ढुङगा छापेपछि हराभरा भएको छ । नगरपालिकाले काम गरेर देखायो, यसले दिङ्लाको साख र षडानन्दको इतिहासलाई जोगायो, धन्यवाद छ नगरपालिकालाई ।’ नगरपालिकाको पहलमा भएको यो काम सराहनीय भएको स्थानीय टेकबहादुर जिसीले बताउनुभयो । 

षडानन्द नगरपालिका क्षेत्रभित्र रहेका पुराना ऐतिहासिक सम्पदा संरक्षण गरी पर्यटकीय गन्तव्य निर्माण गर्न जीर्ण सम्पदा संरक्षण गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भन्नुभयो, ‘अब त पर्यटक दिङ्ला आएर एक हप्ता रमाउन सक्छ ।’ 

प्रमुख प्रशासकीय अधिकृत कोइरालाका अनुसार रामचन्द्र मन्दिरको आसपासमा रहेका सिता कुण्ड, हनुमान कुण्डलगायत कुण्डहरु स्थापना गर्नका लागि नक्सासहित योजना बनिसकेको र काम समेत सुरु भइसकेको छ । 

१९३२ सालमा षडानन्दले खोलेको संस्कृत पाठशाला सञ्चालनका लागि गुठीको नाममा राखिएको जग्गा खोजी गर्ने कामसमेत नगरपालिको अगाडि बढाएको छ । जसका लागि गुठीको जग्गा अतिक्रमण गरी बनाएका घर टहराहरु नगरपालिकाकै सक्रियतामा भत्काउन सुरु गरेको छ ।  

बालागुरु षडानन्द अधिकारीले दिङ्ला बजार आसपासमा नर्मदेश्वर शिवालय, रामचन्द्र मन्दिर, सीता कुण्ड, हनुमान पोखरीलगायत १०८ विभिन्न प्रजातिका वनस्पती रहेको बगैंचा निर्माण गरेका थिए । ती सम्पदाहरुको संरक्षण गर्नको नगरपालिकाले सुरु गरेको छ । जसमा सीता कुण्ड, हनुमान कुण्डलगायत संरक्षणको लागि नक्सा तयार भइसकेको समेत नगरपालिकाले जनाएको छ ।

दस वर्षे द्वन्द्वको चपेटामा परेको गुठी संरक्षणमा कसैले ध्यान नदिएका कारण जीर्ण बनेका भौतिक संरचना २०७२ सालको भूकम्पले भत्काएपछि संरक्षणविहीन जस्तो बनेको मन्दिर परिसरमा भौतिक संरचना पुनर्निर्माण कार्य थालिएको छ । भौतिक संरचना पुनर्निर्माणले सीताराम गुठी परिसरको अनुहार फेरिँदै आएको छ ।

‘षडानन्द अधिकारी तथा दिङ्लाको साख जोगाउन तन, मन र धन लगाएर पुरातात्विक तथा मौलिक सम्पदाहरुको संरक्षण तथा सम्वर्द्धन गर्न सकिन्छ, जसके लागि नगरवासी सबैको सहयोग अपरिहार्य रहेको छ’, षडानन्द नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष किसान राईले भन्नुभयो ।

नगर उपप्रमुख मेरिका राईले जिल्लाका आन्तरिक वा बाह्य पर्यटकका लागि आर्कषक बन्ने स्थानसहितको योजना अघि बढाएको बताउनुभयो । नगरपालिका एक्लैले सम्पदाहरुको संरक्षण गर्न असम्भव भएकाले स्थानीयहरुले त्यसको संरक्षणमा साथ र सहयोग गर्नुपर्ने जनप्रतिनिधिहरुको भनाइ छ ।

नगरपालिकाले पर्यटन प्रवर्द्धनको लागि आर्थिक वर्ष २०७६-०७७ मा निमार्ण सम्पन्न गर्ने गरी रुद्राक्ष, योगमाया, यलम्बर र बुद्धको प्रतिमासहितको पार्क, बाल उद्यान पार्क निमार्ण गर्ने लक्ष्य लिएको जनाएको छ । त्यसका लागि ठाउँहरुको पहिचान सम्पन्न भइसकेको र आर्थिक वर्षको सुरुबाट नै त्यसको काम सुरु हुने नगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया