हजुरबाको थाल, मेयरको पिर्का र ओलीको सोफा !

 असार २१, २०७६ शनिबार ८:२१:५५ | मिलन तिमिल्सिना
unn.prixa.net

बा, त्यसमा पनि हजुर जोडिएको । हजुरबा । बाको पनि बा । बा भनेको भगवानजस्तै । हजुरबा त झन् भगवानको पनि भगवान । हजुर भगवान । महाभगवान । त्यसैले उबेलाका हजुरबा भगवानभन्दा पनि ठूला थिए । राजाभन्दा पनि माथि थिए ।

घरघरमा हजुरबाहरुको शासन चल्थ्यो । छरछिमेकीसँग आँखा जुधाएर हेर्न नसक्ने हजुरबा घरमा भने सबैको सातो लिन्थे । मै हुँ पल्टन्थे । खाएको थालमै चुट्थे । जुठो थालमै हजुरआमालाई भात खान लगाउँथे । खुट्टा तेर्साएर मालिस गर्न भन्थे । चुटौंला, कुटौंलाझैं गरी लम्कीझम्की गर्थे । उपरखुट्टि लगाएर काम लगाउँथे । घरका अरुभन्दा सबै कुरामा आफै जान्नेछु भन्थे । खुट्रटा भुईँमा हुन्नथियो । उभिँदा, बस्दा अग्लो ठाउँ नै रोज्थे ।

हजुरबा बिहान उठ्नेबित्तिकै पिँढीमा पलेंटी कसेर बस्थे । भ्यागुताले ट्वारट्वार गरेझैँ तल्लोबारीको डिलसम्म आवाज पुग्नेगरी हुक्कामा तमाखु तान्थे । हुक्कामा पानी अर्कैले हाल्थ्यो । अर्कैले टलक्क टल्काएर माझिदिन्थ्यो । तमाखु अर्कैले भर्थ्यो । आगो अर्कैले राख्थ्यो । हजुरबाको काम चाहिँ नली मुखमा जोतेर ट्वारट्वार बनाउने । 
अनि ‘यो भएन’, ‘त्यो भएन’, ‘यसरी बढार्नू’, ‘त्यसरी घाँस हाल्नू’, ‘बारीमा जानू’, ‘घाँस काट्नू’, ‘भैंसी दुहुनू’, ‘भकारो सोहोर्नू’..भनेर अह्राउने मात्र । हजुरबाले हुक्काको ट्वारट्वार सक्ने बेलासम्म घरका अरु सदस्यले काम सकिसक्थे ।

बिहान दुई मेलो हुक्का तानेपछि हजुरबाको भात खाने बेला हुन्थ्यो । भात खानका लागि हजुरबा बस्ने छुट्टै ठाउँ । भात पकाउने चुलोको आडमै माटोको अलि अग्लो चौकी । जहाँ कसैले टेक्न त के छुन पनि पाउँदैनथियो । भात खाने थाल पछि छुट्टै । अरुको भन्दा ठूलो, फराकिलो । पाएसम्म चरेशको, नपाए स्टिलको । तर अरुको जस्तो सानो होइन । दुई माना भात अटाउने फराकिलो र ठूलो ।

अग्लो ठाउँमा, अग्लै पिर्कामा बसेर फराकिलो र ठूलो थालमा भात खाएपछि हजुरबा त्यहीँ चुट्थे । हजुरबा अघाएर हिँडेपछि हजुरआमाले त्यही जुठो थालमा भात खान्थिन् । त्यसपछि छोराबुहारी र नातिनातिनाको पालो आउँथ्यो ।

कहिलेकाहीँ नातिनातिना हजुरबा भात खान बस्ने अग्लो ठाउँमा बस्न खोज्थे । तर देख्नेबित्तिकै हजुरबाले सातो लिन्थे । नातिनातिना त के, हजुरआमाले पनि त्यो अग्लो ठाउँमा बसेर भात खान पाउँदैन थिइन् । ठूलो र फराकिलो थालमा पनि अरुले भात पस्केर खान पाउँदैनथिए । ठूलो र अग्लो भनेकै हजुरबाका लागि । किनकी हजुरबा घरका ठूला मान्छे ।

यसरी घरघरमा पहिले हजुरबाहरुको शासन थियो । हजुरबा अग्लो ठाउँमा बस्थे । फराकिलो थालमा भात खान्थे । अरुले हेर्थे । धेरै वर्षपछि घरका अरु छोरा मान्छेको पनि हजुरबा बन्ने पालो आउँथ्यो । अनि उनीहरु पनि पहिलेका हजुरबाले जस्तै सिको गर्थे । उहिले हजुरबाहरुको शासन धेरै वर्षसम्म चल्यो ।

अहिलेका हजुरबा पहिलेका हजुरबाजस्ता छैनन् । हुन खोजे पनि पाउँदैनन् । तर हजुरबाको शासन र सान देखेकाहरुलाई हजुरबाहरुको सिको गर्ने रहर जाग्छ । हजुरबाहरुको बिँडो थाम्न मन लाग्छ । त्यसैले त मेयर र अध्यक्षहरु ठाउँ पाउनेबित्तिकै अग्लोमा चढ्न खोज्छन् । पिर्का मगाउँछन् । कुर्सी ठड्याउँछन् । 

केही पाइएन भने वरपरका झारपात बटुलेर, माटो थुपारेर भए पनि टेक्ने ठाउँ अग्लो बनाउँछन् । वरपरका अरुभन्दा अग्लो भएकोमा आनन्द मान्छन् । मुसुक्क हाँस्छन् । जुँगा मुसार्छन् । आँखा झिम्क्याउँछन् । आफू उड्दैछु भन्ने कल्पना गर्छन् । तर अरुले उडाएर लडाउन खोजिसकेको चाहिँ पत्तो पाउँदैनन् ।

पहिलेका घरमुली हजुरबा तथा गाउँटोलका मुली प्रधानपञ्च र मुखिया हुन्थे । अहिले गाउँटोलमा मुखिया या मुलीहरु छन् । अहिलेका सबै मुली पहिलेका घरमुली र गाउँ मुलीको सिको गर्दैछन् । गाउँ र टोलमुलीहरुले पिर्का र कुर्सी चढेपछि देशकै मुलीले त झन् फराकिलो सोफा खोज्नै पर्यो । 

पहिले देशका मुली राजा हुन्थे । अर्थात राजा भनेको मुली । मुली भनेको राजा । अहिलेका मुलीहरु मूलाजस्तै सस्तो भए पनि राजा भएँ भनेर मख्ख पर्छन् । वडामा वडा मुली । गाउँ र नगरमा त्योभन्दा ठूला मुली । प्रदेशमा मिनी मुली । केन्द्रमा मिनीभन्दा माथिका मुली । अनि बालुवाटारमा चाहिँ प्रधानमूली अर्थात महामुली ।

उहिलेका मुली हजुरबाभन्दा अहिलेका गाउँ र नगरका मुलीलाई अलि ठूलो पिर्का मिल्यो । अग्लो कुर्सी मिल्यो । त्योभन्दा ठूला मुलीलाई ठिकै खालको सोफा । अनि महामुलीलाई चाहिँ सोफाको नि सोफा । फराकिलो सोफा । अरुभन्दा बेग्लै सोफा । नरम, नबिझाउने सोफा । अरुको दुःखकष्ट, हालखबर केही थाहा नहुने सोफा । बाटोमा धुवाँधुलो उडेको पत्तो नपाउने सोफा । मास्क लगाएर हिँड्नेलाई आफ्नो विरोधी सोच्ने सोफा । कसैले आलोचना गरिरहेको छ भनेर पनि पत्तो नपाउने सोफा ।

उबेला हजुरबाले ठूलो थालमा खाँदा र अग्लो चौकीमा बस्दा घरका अरुको चित्त दुखेको थाहा पाएनन् । अहिले गाउँ, नगर, प्रदेश र केन्द्रका पिर्के र सोफेहरुले आफू बेग्लै बन्न खोज्दा अरुले खिसी गरेको पत्तो पाएका छैनन् । 

पिर्का, कुर्सी र सोफामा चढेर उनीहरु आकाश मात्रै हेर्दैछन् । आकाशतिर हेरेर कुद्दा कुन दिन लडिन्छ भन्ने पनि पत्तो पाएका छैनन् । एकदिन पिर्का र कुर्सीबाट लडेपछि थाहा पाउलान्, आफू उभिएको धरातल ! अनि अरुले त मास्कले नाक र मुख मात्रै छोपेका थिए । उनीहरुले पुरै अनुहार नै छोप्नेछन् ।

अन्तिम अपडेट: भदौ २४, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया