साउदीको जेलमा रहेका दिलबहादुरको उद्दारका लागि युएईबाट साढे ५ लाख सहयोग

 असार २३, २०७५ शनिबार १७:३६:२९ | उमाकान्त पाण्डे
unn.prixa.net

युएई – साउदी अरबको जेलमा रहेका रोल्पा धवाङका दिलबहादुर घर्तीको उद्दारका लागि युएईबाट ५ लाख रुपैयाँ भन्दा धेरै सहयोग गरिएको छ ।

ब्लडमनी बुझाउन नसक्दा तीन वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका दिलबहादुरलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईले सङ्कलन गरेको ५ लाख ६३ हजार ५६ रुपैयाँ सहयोग गरेको हो ।

समाजले शुक्रबार गरेको कार्यक्रममा अभियानका आर्थिक संयोजक डिलाराम ओलीले सङ्कलित रकम आइतबार नेपाल पठाउने जानकारी दिनुभयो । रकम सार्वजनिक गरेसँगै युएईमा दिलबहादुर बचाउ अभियान बन्द भएको छ ।

दिलबहादुरले चलाएको ट्रक दुर्घटना हुँदा साउदीका एक नागरिकको ज्यान गएको थियो । यही मुद्दामा उहाँ जेल पर्नुभएको हो । दिलबहादुरले ६५ लाख रुपैयाँ ब्लडमनी बापत बुझाउन पर्ने अभियानका केबी गुरुङले बताउनुभयो । कार्यक्रममै किर्तीमान पुनको अध्यक्षतामा २९ सदस्यीय समिति रहेको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएई गठन गरिएको छ । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया