सुकेटार विमानस्थलको स्तराेन्नति गरिने

 असार २१, २०७६ शनिबार १४:३९:१७ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङ जिल्लाको एक मात्र सुकेटार विमानस्थलको स्तराेन्नति गरिने भएको छ ।

ताप्लेजुङ जिल्ला पर्यटकीय भूमि भए पनि सुकेटार विमानस्थलमा १२ महिनामा ६ महिना मात्र जहाज सञ्चालन हुँदा पर्यटकको आगमनमा शिथिलता आएको छ । झण्डै १६ करोड रुपैयाँ खर्च गरेर सुकेटार विमानस्थलको स्तराेन्नति तथा नयाँ संरचना थप गरिने भएको हो । 

चार वर्ष अगाडि कालोपत्रे गरिएको विमानस्थलको स्तराेन्नति तथा विमानस्थल क्षेत्रमा यात्रु प्रतिक्षालयसहितका नयाँ संरचना थप गर्न लागिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण, इन्जिनियरिङ विभागले रकम खर्च गरेर विमानस्थलको स्तराेन्नति गरिने भएकाे बताइएको छ । 

प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले निर्वाचन अगाडि जारी गरेको घोषणा–पत्रमा सुकेटार विमानस्थलको स्तरोन्नति सहितका कार्यक्रम समावेश गर्नु भएको थियो । सांसद भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईँले अहिले कायम रहेको संरचनामा व्यापक थप गर्ने तथा धावनमार्ग वृद्धि र त्यसको स्तराेन्नति पनि गर्ने योजना रहेको बताउनुभयो ।

थपिने संरचनाभित्र यात्रु प्रतिक्षालयदेखि सुरक्षा जाँचका लागि व्यवस्थित कक्षको निर्माण पनि गरिनेछ । 
विमानस्थलको हाल भएको धावन मार्गको लम्बाइ ७ सय मिटरबाट बढाएर ९ सय मिटर बनाउने गरी गरेकाे सर्वेक्षणकाे नतिजा आएर बोलपत्र आह्वान समेत गरिसकिएको छ ।

२०२८ सालमा स्थानीयको पहलमा निर्माण ४४ वर्षपछि आर्थिक वर्ष २०७०-७१ मा ७ सय मिटर लम्बाइ र २० मिटर चौडाइ भएको सुकेटार विमानस्थल कालोपत्रे गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया