मकवानपुरमा खानेपानीका आयोजना अलपत्र : लागत पौने ३ अर्ब, निकासा पौने ९ करोड

 असार २३, २०७५ शनिबार १७:५१:४४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वर्षौदेखिको खानेपानीको समस्यामा रहेका मकवानपुरका नागरिक मकवानपुर खानेपानीका आयोजना समयमै पूरा नहुँदा निराश भएका छन् ।

खानेपानीका योजना गाउँमै शुरु भएपनि रकम अभावका कारण आयोजनाको काम पूरा हुन नसक्दा पानी टाढाबाट बोक्नुपर्ने बाध्यता हट्न नसकेको हो । जिल्लाका विभिन्न ठाउँमा सञ्चालित ५८ वटा योजनाका लागि २ अर्ब ७८ करोड लागत अनुमान गरेर पठाए पनि चालु आर्थिक वर्षमा निकासा भने ८ करोड ८९ लाख रुपैयाँ मात्र भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यलय मकवानपुरले जनाएको छ ।

यसका कारण खानेपानीका सबैजसो योजना अधूरै रहेको खानेपानी तथा सरफाई डिभिजन कार्यालय मकवानपुरका प्रमुख पदम कुँबरले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा दुईवटा योजना मात्र सम्पन्न हुने भएका छन् ।

बजेट विनियोजन यही तरिकाले हुने हो भने खानेपानीका धेरै योजना पूरा गर्न अझै धेरै आर्थिक वर्षको बजेट पर्खनुपर्ने देखिएको उहाँको भनाई छ । डिभिजन कार्यलय मार्फत सञ्चालन भएका थाहा नगरपालिकाको आग्रा खानेपानी आयोजना र बकैयाको मोरङ्गे खानेपानी आयोजनाको मात्र काम सम्पन्न भएको छ । ती योजनाको लागत ३५÷३५ हजार रुपैयाँ मात्र थियो । 

जिल्लाका खानेपानी आयोजना बजेट अभावमा अलपत्र परेका बेला हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सहलगानीमा हर्नामाडीमा २१ करोड, बस्तीपुरमा १३ करोड र हेटौंडामा २४ करोड रुपैया लगानीको खानेपानी आयोजनाको प्रकृया अगाडि बढेको कार्यलयले जनाएको छ । आगामी आर्थिक वर्षदेखि डिभिजन कार्यलय नरहने भएकोले आयोजना प्रदेश अन्तर्गत सञ्चालन हुने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मकवानपुरका प्रमुख कुँवरले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: चैत २३, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया