पानी माग्ने नयाँ तरिका: एक लाख पीपलको पातमा राम राम लेखेर सुनकोशीमा बगाइयाे

 असार २१, २०७६ शनिबार १९:१८:२४ | कपिल कोइराला
unn.prixa.net

काभ्रे - असारको अन्तिम समयसम्म पनि पानी नपरेर हाहाकार भएपछि काभ्रेको तेमाल गाउँपालिका-१, सर्स्यूँखर्कका किसानहरुले पानी माग्दै एक लाख वटा पीपलको पातमा राम राम लेखेर सुनकोशी नदीमा बगाएका छन् ।

पानीको हाहाकार भएपछि किसानहरुले ‘हर हर महादेव पानी देउ देउ’ भन्दै सुनकोशी किनारा पुगेर एक लाखवटा पीपलको पातमा राम राम लेखेर सुनकोशी नदीमा बगाएका हुन् ।

उनीहरुले कोशी किनारामा पुगेर पीपलको पात बगाउँदै रुद्री पूजा र क्षमा पूजा पनि गरेका छन् । पानी नपरेर खेतबारी बाँझै राख्नु परेको र पिउने पानीसमेतकाे हाहाकार भएपछि पानी माग्दै रुद्री र क्षमा पूजा गरेको स्थानीय  विष्णुहरी बडालले जानकारी दिनुभयो । बडाल आफैँ पुरोहित भएर रुद्री र क्षमा पूजा गराउनुभएको थियो ।

वैशाख ३ गतेपछि अहिलेसम्म पानी नपरेका कारण खेतबारी बाँझै भएको स्थानीय किसानहरुले दुखेसो पोखेका छन् । नगदेबालीबाट पनि राम्रै आम्दानी हुने सर्स्यूँखर्कमा अझै पानी नपरे खेतबारी बाँझै बस्ने र कृषकहरुलाई मर्का पर्ने स्थानीयकाे भनाइ छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया