कांग्रेस बैठक : घरेलु र राष्ट्रिय कार्यभारमा केन्द्रित

 असार २२, २०७६ आइतबार १९:२६:१४ | विश्वप्रकाश शर्मा
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु हुँदै छ । 

बैठक विशेष गरी दुई वटा विषयवस्तुमा केन्द्रित रहनेछ । एउटा राष्ट्रिय कार्यभार र अर्को नेपाली कांग्रेस पार्टीको आफ्नै घरेलु कार्यभार । 

नेपाली कांग्रेस पार्टीको आफ्नै घरेलु कार्यभार छ । जसअनुरुप पार्टीका संरचनालाई पूर्णता दिने, विभागहरु गठन गर्ने, भातृ संगठन सुदृढ गर्ने, जागरण अभियानको पहिलो चरणको समीक्षा गर्ने र दोस्रो चरण अभियानको तयारी गर्ने विषयहरु बैठकमा छलफल हुन्छन् । 

यस्तै अर्को भनेको राष्ट्रिय कार्यभार हो । डेढ महिनापछि बसेको बैठकमा यसबीचमा राष्ट्रिय राजनीतिमा के कस्ता घटनाक्रम भए प्रमुख प्रतिपक्षी दलको नाताले त्यो विषय स्वभाविक रुपमा हाम्रो मुद्दा हुन्छ । र यी विषयहरु बैठकमा उठ्छन् । 

अझ एउटा प्रमुख प्रतिपक्षी दलको रुपमा यो विषय प्राथमिकतामा पर्छन् नै । 

अहिले खासगरी सत्तारुढ दलमा नेपालको संविधानले भन्दा पनि कम्युनिष्ट दर्शनको शास्त्रीय भड्कावले बढी काम गरेको छ । सरकार अलोकतान्त्रिक बन्दै गएको, निषेधको राजनीति गर्दै गरेको र सरकारले दर्जनजति विधेयकहरु लोकतान्त्रिक मूल्य र मान्यताभन्दा बाहिर गएर ल्याउँदै गरेको अवस्था छ । यी विषयहरुमा आम नागरिकको अपेक्षा प्रमुख प्रतिपक्षी दलले सरकारका कमजोरीमाथि खरो ढंगले प्रहार गरोस् भन्ने छ । यही कार्यभारमा रहेर छलफल हुन्छ । योसँगै बैठकमा झण्डै एक दर्जन एजेण्डामा छलफल हुन्छ । 

बैठकको सुरुवात वा भनौँ बैठकको पहिलो एजेण्डा भनेको कांग्रेसको नियमावलीको विषय हुन्छ । कांग्रेस केन्द्रीय सदस्य एवं नियमावली संशोधनको मस्यौदा समितिका संयोजक रमेश लेखकले नियमावली बैठकमा नियमावली पढेर सुनाउनु हुन्छ । उहाँले बैठकमा मस्यौदा पेश गरेपछि आवश्यक छलफल हुन्छ । त्यसमा साथीहरुको भावना गाँसेर पारित गर्ने काम हुन्छ । त्यो आजै सकिने होइन । बैठक लम्बिन सक्छ । ३/४ दिनभित्र यो विषय टुंगो लाग्छ । 

नियमावली पारित भएपछि नेपाली कांग्रेसले संघीय संरचनाअनुसार निर्माण गर्नुपर्ने संरचनाहरुलाई पूर्णता दिने बाटो खुला हुन्छ । विधानले निर्दिष्ट गरेको व्यवस्था अनुसार नै संरचनाको निर्माण हुन्छ ।  

ती संरचनाहरुलाई पूर्णता दिन नेपाली कांग्रेसको विधानमा जे व्यवस्था छ, त्योभन्दा बाहिर गएर निर्णय हुन सक्दैन । 

विधान परिमार्जित हुनुअघि, संशोधित हुनुअघि हामीले आवश्यकताको सिद्धान्तको आधारमा कतिपय निर्णयहरु गर्थ्यौँ होला । तर ती निर्णय गर्दैगर्दा पनि नेपाली कांग्रेस पार्टीले केन्द्रीय कार्य समितिको म्याण्डेडका आधारमा निर्णय गर्ने गरेको थियो । अहिले त हामीले विधान संशोधन गरेका छौँ । परिमार्जन गरेका छौँ । 

यो विधान अघिल्लो विधान अर्थात् परिमार्जन नगरिएको भन्दा के कुराले भिन्न छ भने नेपालको संविधानले राज्यको पुनः संरचना जसरी गर्यो त्यो बदलिएको संरचना हाम्रो विधानमा थिएन । नेपालको बदलिएको संरचना संविधानले चिन्थ्यो, तर नेपाली कांग्रेसको विधानले चिन्दैन थियो । तर गएको पुस ८ गते सम्पन्न भएको महासमिति बैठकपछि केन्द्रीय कार्यसमिति हुँदै हामीले जुन विधान बनाएका छौँ, त्यो विधानले यी कुराहरुलाई समेटेको छ ।

विधानले के भन्छ भने अन्तरिम व्यवस्थाको सन्दर्भमा नेपाली कांग्रेसको विधानको धारा ७२ को उपधारा ४ ले जहाँ तहहरु हेरफेर भएका छन्, ती ठाउँहरुको हकमा तेह्रौँ महाधिवेशनका प्रतिनिधिहरुले नेतृत्व चयन गर्ने छन् भन्ने व्यवस्था गरेको छ । त्यसलाई अन्तरिम नेतृत्व भनिन्छ । अन्तरिम रुपमा अधिवेशन हुनेछ ।  

मनोनयन हुँदैन 

कतिपयले यसलाई कांग्रेसले तदर्थ समिति बनाउन लाग्यो अथवा सभापतिले तदर्थ समिति बनाउन लाग्यो भन्ने रुपमा बुझेका छन् । यो विल्कुल गलत कुरा हो, निराधार हो । तदर्थ समिति बनाउने भन्ने कुरा नेपाली कांग्रेसको विधानमा छँदै छैन । त्यसकारण अन्तरिम व्यवस्था अनुसार धारा उपधारामा जे छ, त्यही प्रक्रिया अनुसार अघि बढ्ने भन्ने हो । 

यसरी हामी अघि बढ्दै जाँदा कतिपय ठाउँमा सहमति होला साथीहरुले सहमतिपूर्वक नेतृत्व चयन गर्नुहोला । कतिपय ठाउँमा सहमति नभएर प्रतिस्पर्धा होला । प्रतिस्पर्धा लोकतान्त्रिक प्रक्रिया बमोजिम गर्नुहोला, तर यो कुरा प्रक्रियामा जान्छ । 

मनोनयनको कहीँ कतै कुरै हुँदैन । कुनै ठाउँमा कुनै क्षेत्रमा सहमति हुन सक्ला । तर त्यसलाई केन्द्रले हस्तक्षेप गरेर तोकेर गर्दैन । सर्वसम्मति त हाम्रो पहिलो प्रक्रिया हो । केन्द्रले काठमाण्डौमा बसेर टिका लाइदिन लाग्यो भन्ने खालका बाहिर आएका कुराहरु विल्कुल गलत हो । त्यस्तो हुँदैन । 

दोस्रो चरणको अभियानअघि सबै संरचना

हामीले आगामी भदौदेखि सुरु हुने जागरण अभियानको दोस्रो चरणको कार्यक्रमअघि नै पार्टीका सबै संरचनालाई अन्तरिम स्वरुप दिने छौँ ।

ती संरचनालाई निर्वाचनकै माध्यमबाट पूर्णता दिन परे पनि हामीसँग समय अभाव हुँदैन । झण्डै ६० दिन अझै बाँकी छ ।

हामीले एक महिनाको बीचमा केन्द्रीय प्रतिनिधि पठाउने, निर्वाचन समितिमार्फत प्रतिनिधि जाने, त्यसपछि पक्रिया प्रारम्भ गर्ने र नेतृत्व चयन गर्ने कुराहरु गर्न सक्छौँ ।

त्यसैले दोस्रो चरणको अभियानअघि यो नसकिएला कि भनेर सशंकित हुनु पर्दैन । यो बैठकपछि हामी सबैको ध्यान त्यतैतर्फ केन्द्रित हुनेछ । 

फर- फरक विचार समूह हुनु नौलो होइन

लोकतान्त्रिक पार्टीभित्र फरक-फरक मतहरु हुनु, फरक-फरक भावना हुनु, फरक-फरक दृष्टिकोणहरु हुनु, फरक-फरक विचार समूहहरु हुनु विल्कुल स्वभाविक हो ।

गुटगत भेला, छलफल हुनु नौलो कुरा होइन । यस हिसाबले कसैले व्यक्तिगत धारणा राख्न सक्ला, कसैले सामूहिक धारणा राख्न सक्छन्, यसलाई अनौठो मान्नु हुँदैन । हाम्रो पार्टीभित्र पनि यो अभ्यास छ ।  

महाधिवेशनअघि प्रदेश, जिल्लाको अधिवेशन सक्नु छ

बैठकमा नेपाली कांग्रेस पार्टीको आफ्नै घरेलु कार्यभार अन्तर्गतको पार्टीको महाधिवेशनका बारेमा कुरा उठ्न सक्ला । तर महाधिवेशनको विषय नेपाली कांग्रेस पार्टीको आठौँ तहको अधिवेशन हो भनेर बुझ्नु पर्छ । आठौँ खुड्किलामा टेक्नु अगाडिका ७ वटा खुड्किला हामीले पार गर्नुपर्ने अवस्था छ ।  

महाधिवेशन आठौँ खुड्किलो हो । त्योभन्दा अगाडि प्रदेश, जिल्ला, क्षेत्र, इलाका, गाउँ नगर, वडा र टोल समितिका अधिवेशन सक्नु पर्नेछ । त्यसपछि मात्रै महाधिवेशन गर्ने हो । पहिलो खुड्किलो नटेकी, दोस्रो खुड्किला नटेकी, एकै पटक आठौँ खुड्किलोमा हामी पुग्दैनौँ । 

तर अब हामी अन्तरिम प्रक्रियामा प्रवेश गर्दैछौँ । अब हामी जागरण सँगसँगै अधिवेशन र अधिवेशन सँगसँगै जागरण अभियान छौँ । यसर्थ महाधिवेशनका बारेमा बैठकले केही निर्णय गर्न सक्ला । अहिले बैठक बसिरहेको छ । यो बारेमा छलफल हुन सक्छ । 

(कांग्रेस प्रवक्ता शर्मासँग नवराज फुयाँलले गरेकाे कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: चैत १६, २०८०

विश्वप्रकाश शर्मा

उहाँ नेपाली काँग्रेसका प्रवक्ता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया