काेपा अमेरिका फुटबलकाे उपाधि ब्राजिललाई

 असार २३, २०७६ सोमबार ६:३२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

कोपा अमेरिकाको उपाधि ब्राजिलले जितेको छ । फाइनलमा पेरुलाई ३–१ ले हराउँदै ब्राजिलले १२ वर्षको उपाधिको खडेरी अन्त्य गरेको छ ।

रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको फाइनलमा ग्याब्रियल जेससले एउटा गोल, एउटा एसिस्ट र त्यसपछि रातो कार्ड पाएर बाहिरिएको खेलको बाजी ब्राजिलले मार्‍यो । पाउलो गुएर्रोले पहिलो हाफमा गोल गर्दै पेरुलाई आशा जगाएका थिए । तर, जित भने दिलाउन सकेनन् ।

खेलको १५औं मिनेटमा एभर्टनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले जेससको पासमा गोल गरेका थिए । ४४औं मिनेटमा पेरुले पेनाल्टी पायो । टियागो सिल्भाले डि एरियामा ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई पाउलो गुएर्रोले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्‍याए ।

इन्ज्युरी समयमा जेससले गोल गर्दै ब्राजिललाई पहिलो हाफअघि २–१ को अग्रता दिलाए । ७०औं मिनेटमा कार्लोस जाम्ब्रानोलाई फाउल गरेका कारण जेससले दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि ब्राजिल बाँकी २० मिनेट १० खेलाडीमा झरेको थियो ।

९०औं मिनेटमा जाम्ब्रानोले एभर्टनलाई फाउल गरेपछि ब्राजिलले पेनाल्टी पायो । पेनाल्टीलाई सब्स्टिच्युट खेलाडी रिचार्डलिसनले गोलमा परिणत गर्दै ब्राजिलको १२ वर्षको कोपा अमेरिकाको खडेरी अन्त्य गरेका हुन् ।

ब्राजिलको समग्रमा यो नवौं कोपा उपाधि हो । आफूले आयोजना गरेको हरेक कोपा जित्ने रेकर्ड पनि ब्राजिलले कायम राखेको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया