कांग्रेस केन्द्रीय समितिको बैठक सारेर देउवा निवासमा सप्ताह !

 असार २३, २०७६ सोमबार १९:७:६ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ – आइतबार ५ घण्टा ढिला गरी केहीबेर बसेको कांग्रेसको केन्द्रीय कार्य समिति बैठक ५ दिनपछि फेरि बस्ने निर्णय गर्दै स्थगित हुन पुग्यो ।  

बैठक अब २७ गते दिउँसो बस्ने गरी स्थगित भएको छ । आइतबार दिउँसो २ बजेका  लागि बोलाइएको बैठक साँझ करिब ७ बजेमात्रै सुरु भएको थियो । बैठकको सुरुमै पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले विभिन्न १४ वटा एजेण्डा पेश गर्नुभएको थियो । 

नियमावली संशोधन समितिले तयार पारेको नियमावली पारित गर्ने, पार्टीको तल्लो तहका संरचनाको निर्माणपश्चात महाधिवेशनको कार्यतालिकाअघि बढाउने, पहिलो चरणको जागरण अभियानको समीक्षा गर्ने, भ्रातृ संस्थाको चयन प्रक्रिया निर्धारण गर्ने जस्ता एजेण्डाहरु थिए । 

यस्तै दोश्रो चरणको जागरण अभियानको तयारी गर्ने, क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने, कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजनमा  भएका कामहरुको प्रगति प्रतिवेदन पेश गर्ने जस्ता एजेण्डा बैठकमा प्रस्तुत गरिएको थियो । 

तर बैठकमा एजेण्डा पेश भएपछि भने ती एजेण्डामाथि छलफल अघि बढेन । बैठकका एजेण्डा राखिसकेपछि सभापति शेरबहादुर देउवाले बैठक फेरि २७ गते बस्ने गरी स्थगित भएको घोषणा गर्नुभयो । सभापतिले नै बैठक सार्ने घोषणा गर्नु भएपछि बैठक २७ गते दिउँसो बस्ने गरी स्थगित हुन पुगेको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो ।  

नेताहरुबीच बैठकका एजेण्डा तय गर्ने विषयमा सहमति हुन नसक्दा बैठक बस्नै ढिला भइसकेको थियो । बल्लबल्ल पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गरे पनि केन्द्रीय समिति बैठक सुरु हुन अबेर भइसकेको थियो । 

साँझ ७ बजे बसेको बैठकमा धेरै जना केन्द्रीय सदस्यहरु अनुपस्थित थिए । बैठक बस्न ढिलाइ हुँदा उपत्यका बाहिरबाट बैठकमा सहभागी हुन आएका अधिकांश सदस्यहरु कार्यालयबाट बाहिरिइसकेका थिए । 

बैठक सर्ने पक्कापक्की देखेपछि केन्द्रीय सदस्यहरु साँझ नै पार्टी कार्यालयबाट बाहिरिएका थिए ।  

सभापतिकाे घरमा लगाइएकाे सप्ताहले बैठक सर्‍याे  

केन्द्रीय समिति बैठकका एजेण्डा ढिलै भए पनि तय भइसकेकाले बैठक सर्दैन भन्ने धेरैलाई लागेको थियो । तर बैठकका एजेण्डासँगै नेताहरुले बैठकको मिति सार्ने विषयमा पनि सहमति गरिसकेका थिए । 

तस्बिर - कपिल सुवेदी

पार्टी सभापति शेरबहादुर देउवा पारिवारिक काममा व्यस्त हुनु पर्ने भएकाले बैठक सारिएको पार्टी स्रोतले जनाएको छ । सभापति देउवाको घरमा यही बेला सप्ताह लगाइएको छ । सप्ताहमा बस्नु पर्ने भएकाले सभापतिकै आग्रहमा बैठक ५ दिनपछिका लागि सारिएको हो ।

केन्द्रीय समिति बैठकका लागि भन्दै जिल्ला जिल्लाबाट आएका प्रतिनिधिहरु भने नेताहरुले बैठक सार्दा दुःख पाएको गुनासो गर्छन् । 

बैठक सुरु हुनअघि नै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशनको कार्यतालिका बेठकमा प्रस्तुत गर्न माग गरेका थिए । समयमै महाधिवेशन गर्न उनीहरुको माग छ । 

तर देउवाले पक्षले त्यसलाई स्वीकार्न तयार नभएपछि मध्यमार्गी बाटो अपनाउँदै बैठकका एजेण्डा तय गरिएको थियो । जसअनुरुप पार्टी संगठन अन्तरिम व्यवस्थाअनुसार गठनपश्चात् १४ औं महाधिवेशनको प्रक्रिया अघि बढाउने भन्ने वाक्यांश राखेपछि भने दुवै पक्ष बैठकका लागि तयार भएका थिए । 

बैठकका एजेण्डा तय गरेपछि सभापति देउवाले आफ्नो घरमा सप्ताह रहेकाले बैठकको मिति केही दिन पर सार्ने प्रस्ताव राख्नु भएको थियो । सभापति आफै व्यस्त हुनुपर्ने भएपछि बैठक केही दिनका लागि सारिएको बैठकमा सहभागी नेताहरु बताउँछन् । 

तस्बिर - प्रविण मल्ल

सभापति देउवाकाे घरमा लगाइएकाे सप्ताहमा नेता कार्यकर्ताकाे दिनहुँ उल्लेख्य भिड लाग्ने गरेकाे छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पाैडेल पनि बुढानीलकण्ठ पुगेर सप्ताहमा सहभागी हुनु भएकाे छ । पार्टी केन्द्रीय कार्य समिति बैठकमा भाग लिन आएका केन्द्रीय सदस्य, विभिन्न भातृसंस्थाका प्रतिनिधि तथा अन्य दलका प्रतिनिधिहरु पनि सभापति देउवाकाे घरमा आयाेजित सप्ताहमा पुगेका छन् । 

तस्बिर - मुकुन्द श्रेष्ठसभापति देउवाकाे घरमा आयाेजित सप्ताहकाे साेमबार पाचाैँ दिन हाे । सभापति देउवाकाे घरमा आयाेजित सप्ताहमा पंण्डित कपील सुवेदीले कथा वाचन गरिरहनु भएकाे छ । सप्ताह नसकिँदासम्म त्यहीँ व्यस्त हुनु पर्नेभएकाले देउवाले बैठक सार्नु भएकाे हाे । 

बैठक सार्नुअघि शीर्ष नेताहरुले आफ्नो छोटो भनाइ बैठकमा राखेका थिए । 

बैठकमा विवादित विषय

२७ गते बस्ने बैठकमा विशेष गरी दुई वटा विषयमा बढी केन्द्रित हुने देखिन्छ । पार्टीको गाउँ, नगर, क्षेत्र, जिल्ला तथा प्रदेश तहको संरचना निर्माण र महाधिवेशनका सन्दर्भमा बैठक बढी केन्द्रित हुने नेताहरु बताउँछन् । 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा सबैले आ–आफ्ना राय राख्ने र सबैको भावनाअनुसार नै एजेण्डा पारित गरिने बताउनुभयो । पार्टीको विधानअनुसार नै पार्टी केन्द्रीय समितिले निर्णय गर्ने उहाँ बताउनुहुन्छ ।  

गएको मंसिर–पुसमा सम्पन्न भएको महासमिति बैठकले पारित गरी फागुन १२ मा बसेको केन्द्रीय समितिले अनुमोदन गरेको विधानले पार्टीको तल्लो तहसम्मको संरचनाको व्यवस्था गरेको छ । त्यसले टोल, वडा, गाउँ र नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी पार्टीका ८ तहका संरचनालाई पूर्णता दिन बाँकी छ । 

यही संरचनालाई संस्थापन पक्षले मनोनयनमार्फत पूर्णता दिने तयारीमा लागेको भनेर सस्थापन इतर पक्षले विरोध गर्दै आइरहेको छ । संस्थापन इतर पक्षले ती सबै संरचनालाई मनोनयनबाट नभई निर्वाचनमार्फत पूर्णता दिनु पर्ने बताउँदै आएको छ । 

प्रवक्ता शर्माले पनि संरचनालाई पूर्णता दिने विषय विधानअनुरुप नै हुने भन्दै विधान बाहिरबाट नहुने प्रष्ट पार्नुभयो । 

अन्तिम अपडेट: चैत २१, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया