पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको लोथरबाट सडक फराकिलो पार्ने कामको सुरुवात

 असार २३, २०७६ सोमबार १९:५५:९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको लोथरबाट सडक फराकिलो पार्ने कामको सुरुवात गरिएको छ । 

राजमार्गको दायाँबायाँ २५ मिटर सडक विस्तार गर्ने कामको सोमबारदेखि सुरुवात गरिएको हो । चितवन र मकवानपुरको सिमानामा पर्ने लोथर बजारबाट सडक फराकिलो पार्ने अभियान सुरु भएको सडक डिभिजन कार्यालय हेटौंडाका सूचना अधिकारी जयराम अधिकारीले बताउनुभयो ।

मनहरी गाउँपालिकाको लोथरमा सोमबा सडक कार्यालयको डोजर जानेबित्तिकै त्यहाँका बासिन्दाले घर भत्काउन सुरुवात गरेको बताउँदै अधिकारीले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘सडक सीमाका संरचना हटाउनका लागि दिइएको १५ दिनको म्याद सकिनेबित्तिकै आजबाट राजमार्गको सीमा क्षेत्रमा पर्ने घर, टहरा तथा संरचना भत्काउन सुरुवात गरेका हौँ ।’

सोमबार मात्र लोथरमा २० वटा टहरा भत्काइएको उहाँले जानकारी दिनुभयो । सोमबार बिहान घर टहरा भत्काउनका लागि सडक डिभिजन कार्यालयको सिमाना पथलैयाबाट पनि सुरुवात गरिएको बताइएको छ ।

२५ मिटर सडक फराकिलो बनाउने अभियान अब निरन्तर जारी राखिने सडक कार्यालयको योजना छ । यसअघि सडक भत्काउन सुरु गरिए पनि विभिन्न खालका आन्दोलनका कारण सडक विस्तारको काम रोकिएको थियो । मकवानपुरको मुख्य बजार क्षेत्रको रुपमा रहेको हेटौँडा उपमहानगरपालिका क्षेत्रका ३ सयभन्दा धेरै घरले सर्वोच्च अदालतको स्टे अर्डर लिएको भन्दै ती घर बाहेक अन्य क्षेत्रमा डोचर चल्ने उहाँले बताउनुभयो ।

मुआब्जाको विषयमा अहिलेसम्म कुनै पनि निर्णय भैनसकेको उहाँको भनाइ रहेको छ । यता मकवानपुर उद्योग वाणिज्य संघले भने बिनामुआब्जा घरमा डोजर चलाउन नदिने चेतावनी दिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया