एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट : हङकङलाई पराजित गरेर एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

 असार २४, २०७६ मंगलबार ६:५८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपको स्थानका लागि मंगलबार नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । एसिया कपको छनोट प्रतियोगिताका रुपमा रहेको एसीसी यू–१९ इस्टर्न रिजनमा सबै प्रतिस्पर्धी पाखा लागिसकेका छन् । एसिया कप खेल्ने लक्ष्यका साथ अघि बढिरहेको नेपालको बाटोमा अब एउटामात्र तगारो बाँकी छ, त्यो हो– हङ्कङ् ।

इस्टर्न रिजनको फाइनल किनरारा ओभल मैदानमा स्थानीय समय अनुसान बिहान १० बजे र नेपाली समय अनुसार ७ः४५ बजे हुनेछ ।

प्रतियोगिताको दाबेदार नेपालले मलेसियालाई सात विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो भने हङ्कङ्ले वर्षाले प्रभावित खेलमा सिंगापुरलाई डीएस मेथडमा ५१ रनले पराजित गरेको थियो ।

तीन महिनाअघि मलेसियामै भएको यू–१९ विश्वकप गुमाएको नेपाल यो पटक अझ बढी आत्मविश्वासी छ । टिममा अनुभवीका साथै उत्कृष्ट खेलाडीको उपस्थितिले नेपाललाई दाबेदारका रुपमा हेरिएको हो । 

प्रतियोगिताको समूह चरणका दुई र सेमिफाइनलको एक गरी तीनवटै खेलमा नेपालले गरेको जस्तो प्रदर्शन कुनै टिमले गर्न सकेको छैन । हङकङले पनि प्रतियोगितामा उल्लेखनीय प्रदर्शन गरेको छैन ।

ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट खेलाडी रहेकाले नेपाली टिम सन्तुलित छ । नेपाली टिमका कप्तान रोहित कुमार पौडेलले पनि हङकङ त्यति उत्कृष्ट नदेखिएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘हाम्रो टिम सन्तुलित छ । आफ्नो प्रदर्शन गर्ने हो, जित हाम्रो हातमा हुनेछ ।’

वर्षाका कारण यूएईभन्दा पछि पर्दै यू–१९ विश्वकप खेल्ने मौका गुमाएको नेपाली युवा टिमलाई आफ्नो क्षमता अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्नका लागि यू–१९ एसिया कप अर्को एउटा अवसर हुनेछ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया