स्याङ्जाको लाखुडाँडामा सामूहिक टिमुर खेती, पकेट क्षेत्र बनाउने वडाको लक्ष्य

 असार २५, २०७६ बुधबार ११:११:१६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – सरकारले जग्गा बाँझो नराख्ने नीति लिएर अगाडि बढिरहेका बेला स्याङ्जाको गल्याङका कृषकहरुले बाँझो जग्गामा सामूहिक टिमुर खेती सुरु गरेका छन् । गल्याङ नगरपालिका– १० लाखुडाँडाका कृषकहरुले झाडी फाँडेर बाँझो जग्गामा सामूहिक टिमुर खेती सुरु गरेका हुन् । 

साढे १ हेक्टर बाँझो जग्गालाई सदुपयोग गर्दै टिमुर खेती सुरु गरिएको हो । स्थानीय लिला सारुले बाँझो जग्गाको सदुपयोग पनि हुने र आर्थिक उपार्जनसमेत गर्न सकिने भएकाले सामूहिक टिमुर खेतीमा लागेको बताउनुभयो । स्थानीय ५० घरधुरीले देवीभञ्याङ टिमुर व्यवसायिक कृषि समूह गठन गरी सामूहिक टिमुर खेतीमा जागरुक भएका हुन् ।

पछिल्लो समय वन्यजन्तुले अन्न बाली तथा फलफूल खाइदिने गरेकाले पनि टिमुर खेती आफूहरुको लागि लाभदायी हुने सारुको विश्वास छ । सारु भन्नुहुन्छ, ‘हामी टिमुर खेतीमा जागरुक छौँ । यसको संभावना देखिएकाले खेती सुरु गरेका हौँ ।’ अघिल्लो वर्ष वडामा ७ सय टिमुरका विरुवा परीक्षणका रुपमा लगाइएको र टिमुरका लागि चाहिने उपयुक्त हावापानी भएको अर्का कृषक लक्ष्मण शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘यो वर्ष हामीले २५ सय टिमुरका विरुवा रोप्न सुरु गरेका छौँ, लाखुडाँडामा रहेका ५० घरधुरी टिमुर खेतीका लागी समूहमा आवद्ध छन् ।’ टिमुर खेतीका लागि स्थानीय रुपमै नर्सरी बनाई विरुवा उत्पादनसमेत गरिएको शाहीले बताउनुभयो ।

स्थानीय युवा टेकबहादुर सिँजाली भन्नुहुन्छ, ‘बेरोजगार युवाहरुलाई कृषिका माध्यमबाट स्वरोजगार बन्न यस्ता कार्यक्रमले टेवा पुग्नेछ ।’

अन्य वडाभन्दा भौगोलिक विकटता रहेको –१० मा स्थानीयलाई कृषिबाटै समृद्ध बनाउने योजना रहेको वडाध्यक्ष ध्रुवप्रसाद शर्मा पंगेनीले बताउनुभयो । कृषि र पर्यटनको भरपुर सम्भावना रहेको लाखुडाँडामा स्थानीय समेत सामूहिक टिमुर खेतीमा सक्रिय देखिएको अध्यक्ष पंगेनीले बताउनुभयो ।

मानव जीवनमा टिमुर परम्परादेखि नै सर्वसाधारणले मसलाको रुपमा प्रयोग गर्दै आएको बहु उपयोगी र औषधीय गुण भएको एउटा महत्वपूर्ण फल हो । विशेष गरी अचार, सिस्नोको तरकारी, च्याउको परिकार बनाउँदा यसको मसला अनिवार्य जस्तै मानिन्छ । टिमुर दन्त मञ्जन, साबुन, अत्तरलगायतको सामग्री उत्पादनमा प्रयोग गरिँदै आइएको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया