मेलम्ची आयोजनालाई तीव्रता दिन उच्चस्तरीय बैठक

 असार २५, २०७६ बुधबार १७:४८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मेलम्ची खानेपानी आयोजनाको कामलाई तीव्रता दिन सिंहदरबारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।

खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा बुधबार खानेपानी मन्त्रालयमा सिन्धुपाल्चोकमा जनप्रतिनिधि र मन्त्रालयका सचिव सहभागी उच्चस्तरीय बैठक सम्पन्न भएको हो ।

बैठकमा मन्त्री मगर, पूर्व मन्त्री एवं सिन्धुपाल्चोकका प्रतिनिधि सभा सदस्यद्वय अग्निप्रसाद सापकोटा, शेरबहादुर तामाङ, खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, सिन्धुपाल्चोकका जिल्ला समन्वय समितिका प्रमूख कृष्णगोपाल तामाङ र मेलम्ची खानेपानी आयोजना विकास समितिका उपकार्यकारी निर्देशक रामचन्द्र खरेल सहभागी हुनुहुन्थ्यो । बैठकमा मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न देखिएका समस्याहरुको समाधान कसरी गर्ने भन्ने एजेण्डामा गहन छलफल भएको थियो ।

गएको डिसेम्बरमा आयोजना निर्माणको ठेक्का लिएको सीएमसी कम्पनीले काम छोडेपछि आयोजना प्रभावित हुँदै आएको थियो । यही २०७६ जेठ ६ गते नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले मेलम्ची खानेपानी आयोजनाको आवश्यक कामकाज गर्न मेलम्ची आयोजना विकास समितिलाई निर्देशन दिएको थियो ।

मन्त्रिपरिषदको निर्देशनबमोजिम आयोजनाले जेठ १७ गते निर्माणको बाँकी काम सम्पन्न गर्न टेण्डर आह्वान गरेको थियो । तर, पुरानो ठेकेदार कम्पनी सीएमसीले कामदार, ढुवानीकर्ता र सह–ठेकेदारहरुलाई दिनुपर्ने भुक्तानी नदिएको भन्दै स्थानीयले आयोजनाको काम अवरुद्ध गरेपछि आयोजनाले मेलम्ची खानेपानी सीएमसी भुक्तानी, अवरोध, अध्ययन तथा सहजीकरण कार्यदल गठन गरेको थियो ।

२०७६ साल असार ९ गते गठन गरिएको कार्यदललाई सीएमसीले काम छोडेपछि उत्पन्न समस्याको पहिचान र समाधानका लागि सुझाव दिन कार्यादेश तोकिएको थियो ।

कार्यदलले असार १९ गते मेलम्ची खानेपानी विकास समितिलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा आयोजनाको पृष्ठभूमि, कार्यदलको कार्यादेश, मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था, नयाँ ठेक्का प्रक्रिया एवं सीएमसीसँग भएका सम्झौता र गतिविधि, मजदुर तथा श्रमिकहरुका माग, आन्दोलित आपूर्तिकर्ताको माग तथा अनुरोध, आपूर्तिकर्ताहरुलाई सीएमसीले भुक्तानी गर्नुपर्ने रकम, मजदुर तथा श्रमिकलाई भुक्तानी गर्नुपर्ने रकम, मेलम्चीमा रहेका यन्त्र, उपकरण र मेसिनहरुको विवरण र अवस्था, मौज्दात रहेका निर्माण सामग्री, मेलम्ची आयोजनाको वास्तविकता, मेलम्ची विकास समितिलाई सुझाव र कार्यदलको सिफारिसलगायतका विषय समेटिएका छन् ।

कार्यदलले सीएमसी कम्पनीले मेलम्ची आयोजनाको काम छोडेपछि उत्पन्न समस्या समाधानका लागि आवश्यक सुझाव दिएको छ । मेलम्ची आयोजनालाई दिएको सुझावका आधारमा समस्या समाधान गर्न मन्त्री मगरले बुधबार उच्चस्तरीय बैठकको आयोजना गर्नुभएको थियो । बैठकमा उपस्थित नेताहरुले मेलम्ची आयोजनामा देखिएका समस्याका बारेमा आफ्नो धारणाका साथै आयोजना सम्पन्न गर्न आफूहरुका तर्फबाट सम्पूर्ण रुपले साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

बैठकमा मन्त्री मगरले मेलम्ची आम नेपालीहरुको सरोकार र राष्ट्रिय गौरवको आयोजना भएकाले आयोजनाको बाँकी काम तीव्रताका साथ सम्पन्न गर्न आफू लागिरहेको जानकारी गराउनुभएको थियो । उहाँले आयोजनाको निर्माण कार्यमा देखिएको असहजता हटाउने काममा आवश्यक सहयोग गर्न बैठकमा सहभागी नेताहरुलाई आग्रह गर्नुभएको थियो ।

बैठकले आयोजनालाई बिनाअवरोध समयमै सम्पन्न गर्नका लागि कार्यदलको प्रतिवेदनका सुझावहरुलाई आधार मानी समस्या समाधानका लागि आवश्यक पहल, समन्वय र सहजीकरण गर्ने निर्णय गरेको छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया