तेल बजारलाई अस्थिर बनाएको भन्दै इरानद्वारा अमेरिकी राष्ट्रपतिको आलोचना

 असार २४, २०७५ आइतबार ७:१८:२० | एजेन्सी
unn.prixa.net

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोलियम बजारलाई अस्थिर बनाएको आरोप लगाएको छ ।

शनिबार इरानी तेल मन्त्री बिजान नामदार जानगनेहले अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ट्वीटरमार्फत तेल निर्यात गर्ने राष्ट्रहरूको संगठन (ओपेक)बारे एक पछि अर्को गर्दै संप्रेषित सन्देशले विश्व तेल बजारलाई अस्थिर बनाएको दावी गरे ।

उनले भने ‘आजभोलि तेलको मूल्य ट्रम्पको व्यवहारमा आश्रित बनेको छ, । हरेक दिन ट्रम्पले तेल बजारलाई प्रभावित पार्नेगरी नयाँ सन्देश सम्प्रेषण गर्ने गर्नुभएको छ । उहाँले ओपेक सदस्य राष्ट्रलाई अनादर हुनेगरी आदेश दिने गर्नुभएको छ वा उनीहरूलाई तेल उत्पादन दर बढाउन निर्देशन दिने गर्नुभएको छ ।’

पछिल्लो पटक गएको बुधबार संप्रेषित ट्वीटमा ट्रम्पले ग्यासको मूल्य बढेको र यसलाई नियन्त्रणमा राख्न ओपेकको एकाधिकारलाई जिम्मेवार मान्नुपर्ने बताएका थिए । 

अमेरिकाले इरानबाहेकका ओपेक सदस्य खासगरी साउदी अरबलाई तेल उत्पादन बढाउन पटकपटक आग्रह गरेको थियो । अमेरिकी राष्ट्रपतिका पछिल्ला ट्वीट सन्देशमा अमेरिकाको मुख्य सहयोगी मानिने खाडी मुलुक साउदी अरबका राजाले उत्पादन बढाउन मञ्जुर देखिएको बताएका थिए ।

अमेरिकाले इरानसँगको आणविक सम्झौताबाट फिर्ता भएको घोषणा गरिसकेको छ भने इरानविरुद्ध आर्थिक नाकाबन्दीको पनि घोषणा गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया