‘ठाडोभाका जोगाउन सकेमात्रै भेडीखर्के साईँलाको सम्मान हुन्छ’

 असार २४, २०७५ आइतबार ८:५२:३६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – नाच्ने गाउने सानैदेखिको रहर । विद्यालयमा होस् या घरगाउँमा । मेलापात, घाँसदाउरा गर्दा होस् या उकाली–ओराली गर्दा । गीत गुनगुनाइरहने बानी थियो, सुन्दरबजार नगरपालिका–५, तार्कु खहरेका विष्णुभक्त अधिकारीको ।

कला, साहित्य, गीतसंगीतमा सानैदेखिको रुची । उहाँले विद्यालयमा हुने विभिन्न कार्यक्रममा कथा, कविता, गीत सुनाउनुहुन्थ्यो । नाच्न पनि पछि पर्नु हुन्नथियो । गाउँघरमा हुने शुभकार्यमा पनि प्रायः सँधै गीत गाउन र नाच्नको लागि विष्णुभक्तकै खोजी हुन्थ्यो । 

विष्णुभक्तले २१ वर्ष शिक्षण पेशामा बिताउनुभएको छ । जागिरबाट ‘रिटायर्ड’ भएपछि उहाँले समय त्यसै खेर फाल्नुभएको छैन । अहिले उहाँ ६३ वर्ष लाग्नुभयो । यो उमेरमा उहाँ समाजसेवामा लाग्नुभएको छ । पछिल्लो समय लमजुङे सँस्कृतिसँग जोडिएको हराउँदो मौलिक ठाडो भाका जोगाउने अभियानमा लाग्नुभएको छ, उहाँ । 

ठाडोभाका शिरोमणि भेडीखर्के साईँला (दीर्घराज अधिकारी) को निधनसँगै संकटमा परेको ठाडोभाका जोगाउन लागि पर्नुभएको हो । ‘तीनवटा कार्यक्रममा ठाडोभाका भेडीखर्के साईँलाको सहयोगी भएर गाउने अवसर पाएँ । ठाडोभाका संरक्षणमा लाग्नुभएका साईँलाको योगदान उल्लेखनीय छ । उहाँको बाटो पछ्याउँदै अहिले म यसलाई जोगाउनुपर्छ भन्दै हिँडेको छु,’ सुन्दरबजारमा भेटिनुभएका विष्णुभक्तले भन्नुभयो ।

उहाँका अनुसार गुरुङ, दुरा समुदायको सँस्कृति हो, ठाडोभाका । ठाडोभाकाका पिता देउबहादुर दुरा, पञ्चेसुब्बा गुरुङलाई मानिन्छ । तर यसलाई बाँचुञ्जेल जोगाउने काम स्वर्गीय भेँडीखर्के साईँला अर्थात दीर्घराज अधिकारीले नै गर्नुभयो । उहाँको गायन शैलीको जति प्रशंसा गरे पनि कमै हुन्छ ।

ठाडोभाका गुनगुनाउने विष्णुभक्त पछिल्लो समय खुलेरै गाउनुहुन्छ । हिजोआज उहाँलाई देख्नेबित्तिक्कै सबैले अनुरोध गर्न थालेका छन्, एकपटक ठाडो भाका गाईदिनुस् न ।’

एक होल गोरु दाइँमा गए
एक हल गोरु जोत्न
भकारोमा गाजु गाई
उधोँ नदी गयो
किन यस्तो भयो
चरी मारौँ भद्राई 
गाउँघर डुली हेर्दा 
केटाकेटी र बुढापाका मात्रै
मादलुलाई तनी
मर्दापर्दा पनि 
कोई छैनन् नि दाजुभाई 
हो भन्छ र..................

यसरी भाका हालेरै उहाँले ठाडो भाका सुनाइहाल्नुहुन्छ ।

भजन, लोकदोहोरी गीत गाउन खप्पिस विष्णुभक्त भन्नुहुन्छ, ‘अरु गीत गाएजस्तो होइन ठाडोभाका । यो गाउन निकै गाह्रो हुन्छ । वास्तविक कुरालाई प्रसँग जोडेर टुक्का गाँस्नुपर्छ । स्वर तान्नुपर्छ । जसले पायो त्यसले गाउनै सक्दैनन् ।’
विष्णुभक्त ठाडोभाका गाउनुसँगै अभिनय पनि उत्तिक्कै राम्रो गर्नुहुन्छ । पुरु लम्सालको लेखन/निर्देशनमा तयार पारिएको नाटक ‘पानीघट्ट’ मा उहाँले ठाडोभाका सर्जक र घट्टबाजेको भूमिका निर्वाह गर्नुभएको छ । नाटकमा अधिकारीको अभिनयलाई धेरै दर्शक तथा श्रोताले रुचाएका छन् ।

उहाँले भन्नुभयो ‘गीत गाएर होस् या नाटकमा खेलेर होस् ठाडोभाकाको संरक्षणमा टेवा पुग्ने काम गर्न पाउँदा मलाई खुशी लाग्छ, ।’ 

सामाजिक सेवाका साथै कला, साहित्यको जगेर्नामा जुट्नुभएका विष्णुभक्तलाई श्रीमती शोभासँगै छोरा सुरेश, छोरीहरु मञ्जु र पुष्पाको पनि साथ र सहयोग छ ।

ठाडोभाका गाउन मादल, मुजुरा र भाका छोप्ने महिलाको समूह चाहिन्छ । युवापुस्ताले पनि ठाडोभाका सुन्न लालयित हुन्छन् । तर गाउनेको संख्या निकै कम छ ।

उहाँ भन्नुहुन्छ, ‘ठाडोभाका जेगाउन मेला/महोत्सवमा ठाडोभाका प्रतियोगिता सञ्चालन गर्नुपर्छ । युवापुस्तालाई ठाडोभाका गायनबारे प्रशिक्षण दिनुपर्छ । यसको प्रचारप्रसार गरिनुपर्छ ।’

विशेषगरी माया पिरती, मेलापात, उकालीओराली, दैनिक जनजीवनका कुरा समेटिने मौलिक ठाडोभाकाको संरक्षणमा आफू बाँचुञ्जेल लागिपर्ने उहाँले बताउनुभयो ।

अन्त्यमा, भेडीखर्के साईँलालाई आँखाभरी ल्याउँदै विष्णुभक्तले भन्नुभयो, ‘ठाडोभाका शिरोमणि साईँलाको सम्मान शालिक ठड्याएर हुँदैन ।  ठाडोभाका जोगाउन सके मात्रै उहाँको आत्माले शान्ति पाउनेछ । उहाँप्रतिको सच्चा सम्मान हुनेछ ।’
 

अन्तिम अपडेट: चैत २३, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया