काबेली करिडोर प्रसारण लाइनमा अवरोध, कुलमान भन्नुहुन्छ : योभन्दा ठूलो अराजकता अरु के हुन्छ ?

 असार २६, २०७६ बिहिबार १९:२५:५३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको तेस्रो खण्ड निर्माणमा पेटी ठेकेदारले अवरोध गरेका छन् । 

आयोजनाको ठेकेदार कम्पनी जागुअर ओभरसिज एण्ड एष्टर जेभीको पेटी ठेकेदार पलाञ्चोक भगवती कन्ट्रक्सन कम्पनीले काममा लगाएका व्यक्तिहरुले निर्माण पाँच दिनदेखि अवरोध गरेका हुन् । 

भगवतीले प्रसारण लाइन निर्माणको पेटी ठेक्का लिएर स्थानीय दावा शेर्पा र कृष्ण कार्कीलाई कामको जिम्मा दिएको थियो । तर भगवतीले काम गरेको पैसा नदिएपछि उनीहरुले अन्तिम चरणमा पुगेको प्रसारण लाइन निर्माणको काम अवरुद्ध पारेका हुन् । 

प्रसारण लाइनको फिदिम (थापाटार)–अमरपुर (पाँचथर) तेस्रो खण्डमा पर्ने १३ किलोमिटर प्रसारण लाइनमा करिब दुई किलोमिटर मात्रै तार तान्न बाँकी छ । यो आयोजनाको लखनपुर (झापा)–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम (पाँचथर) खण्ड सञ्चालनमा आइसकेको छ । लखनपुर गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२/३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेका छन् । तेस्रो खण्ड असारभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ प्राधिकरणले काम गरिरहेको थियो । 

काबेली करिडोर प्रसारण लाइनमा जोडिने जलविद्युत आयोजनाका प्रबद्र्धकले प्रसारण लाइनको आफैँ पेटी ठेक्का लिएर नियोजितरुपमा निर्माणमा ढिलाइ गरिदिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

‘प्राधिकरणले प्रसारण लाइनको निर्माण सक्ने तर आफ्नो निर्माण सकेर उक्त लाइनमा विद्युत् जोड्न नसकेर जरिवाना (पेनाल्टी) तिर्नुपर्ने अवस्था आएपछि उनीहरुले नियोजित रुपमा काममा अवरोध गरेको देखिन्छ’ उहाँले भन्नुभयो, ‘बाहिर बाहिर प्राधिकरणले प्रसारण लाइन समयमा नबनाइदिँदा बिजुली खेर जाने भयो भन्दै हल्ला गर्ने तर भित्र भने आफैँ पेटी ठेक्का लिने, पेनाल्टीबाट बच्न नियोजित रुपमा काममा अवरोध गर्ने, योभन्दा ठूलो अराजकता अरु के हुन्छ ?’ 

पलाञ्चोक भगवती कन्स्ट्रक्सन रैराङ हाइड्रोपावर डेभलप्मेन्टको आयोजना निर्देशक कुवेरमणि नेपालको कम्पनी हो । रैराङले पाँचथर र ताप्लेजुङको सीमानामा पर्ने इवाखोलामा ९ दशमलव ९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको विद्युत कावेली करिडोर प्रसारण लाइनको तेस्रो खण्डको अमरपुर सबस्टेसनमा जोडिने छ । प्राधिकरणसँग भएको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाले विद्युत् उत्पादन गर्नुपर्ने मिति (आरसिओडी) अगामी १ साउनसम्म छ । 

यसैगरी, अमरपुर सबस्टेसनमै ताप्लेजुङमा अरुण काबेली पावर कम्पनीले निर्माण गरिरहेको २५ मेगावाटको काबेली 'बी १' जलविद्युत आयोजना जोडिने छ । प्राधिकरणसँग पीपीए अनुसार आयोजनाको आरसिओडी गएको ९ वैशाख हो । अरुण काबेलीको अध्यक्ष गुरुप्रसाद न्यौपाने रैराङको पनि कार्यकारी निर्देशक हुनुहुन्छ । 

दुवै आयोजना निर्माण तत्काल सम्पन्न भएर नजोडिने भएपछि आफैँले काम लगाएका व्यक्तिहरुलाई पैसा नदिएर तार तान्न अवरोध गरेको काबेली करिडोर प्रसारण आयोजनाका प्रमुख दीपेन्द्रराज द्विवेदीले बताउनुभयो । उहाँले समस्या समाधानका लागि पहल भैरहेको पनि उल्लेख गर्नुभयो ।  

पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविदयुत आयोजनाको विद्युत् प्रवाहका लागि काबेली करिडोर निर्माण गरिएको हो । झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो । 

काबेली करिडोर प्रसारण लाइन निर्माण करिब १० वर्षअघि सुरु गरिएको थियो । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’ मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइलगायतले आयोजनाको काममा ढिलाइ भएको हो । 

३ करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र विश्व बैँकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया