नवजात शिशु चोरी गरेकाे आराेपमा दुई जना पक्राउ

 असार २६, २०७६ बिहिबार २०:१:२२ | सुमन तिमल्सिना
unn.prixa.net

सुनसरी - धरानको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिरामी तथा कुरुवा निदाएको मौका छोपी नवजात शिशु चोरी गर्ने २ महिलालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

सुनसरीको भोक्राह–नर्सिङ गाउँपालिका–१ बस्ने बविता मेहताको शिशु चोरी गर्ने दुईजना  पक्राउ गरेका हुन् । सुनसरीको भोक्राह–नर्सिङ गाउँपालिका–१ बस्ने बविता मेहतालाई सुत्केरी बेथा लागेर गत असार १० गते वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा १३ गते शिशुको जन्म भएको थियो ।

आमा र शिशुको त्यसै अस्पतालको गाइनो वार्डमा राखेर उपचार भइरहेकोमा राति साढे १२ बजे बिरामी कुरुवाले शिशुलाई नदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पीडितको सहयोगमा शिशुको खोजी गरेको थियो । प्रहरीले खोजी गर्ने क्रममा केही दिन अगाडि अस्पताल परिसरमा सुत्केरी तथा बच्चाको रेखदेख गर्ने बहानामा आएकी धरान–५ देवीगाउँकी २७ वर्षीया लीला विश्वकर्माले शिशु चोरेर भाउजु नाता पर्ने धरान १५ बगरकोटकी ४२ वर्षीया मीना लिम्बू (विश्वकर्मा) को घरमा लुकाइ राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

प्रहरीले लीला र मीना दुवैलाई नियन्त्रणमा लिएको जनाएको छ ।  नवजात शिशुको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ भने पक्राउ परेका दुवैलाई शरीर बन्धकसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया