झुक्याउने र झुक्किने प्रधानमन्त्री !

 असार २७, २०७६ शुक्रबार १३:५७:४३ | मिलन तिमिल्सिना
unn.prixa.net

देशको शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई न नागरिक झुक्याउने अधिकार छ, न त आफैँ झुक्किने छुट नै । तर अरुलाई झुक्याउने मामिलामा दर्जनभन्दा धेरै गोल गर्नु भएको छ भने आफू झुक्किने मामिलामा ह्याट्रिक पार गर्नु भएको छ । 

आफ्ना नागरिकसित पटक पटक झुट बोल्न अप्ठेरो नमान्ने र आफू झुक्किएँ भनेर सार्वजनिक लज्जाबोध प्रदर्शन गर्ने प्रधानमन्त्रीप्रति नेपाली नागरिक न आक्रोश देखाउन सक्ने अवस्थामा छन् न सद्भाव नै बाँकी छ । दुई तिहाई बहुमतको प्रधानमन्त्रीको यही बानीका कारण नेपाली नागरिक उहाँभन्दा पनि निरिह भएका छन् ।

अघिल्लो दशैँमा मेलम्ची आउँछ र अघिल्लो पुसमै पानीजहाज चढ्ने टिकट काटिन्छ भनेर झुक्याएको कुरा पुरानो भैसक्यो । अघिल्लो हप्ता मात्रै उहाँले काठमाण्डौमा मास्क लगाएर हिँड्नुपर्ने अवस्था छैन भनेर सबैलाई झुक्याउनुभयो । नागरिकलाई त धेरैपटक झुक्याउनुभयो नै, बेलाबेला उहाँ आफैँ पनि झुक्किने गर्नुभएको छ । भित्रभित्र कतिपटक झुक्किनुभयो, त्यो त उहाँ आफैंलाई थाहा होला । अहिलेसम्म तीनपटक आफू झुक्किएको उहाँकै मुखबाट बाहिर आइसकेको छ ।

भर्खरै मात्र प्रधानमन्त्रीले विषादी प्रकरणमा भारतले पठाएको पत्रबारे आफूलाई झुक्काइएको बताउनुभयो । बुधबार नेपाल टेलिभिजनबाट प्रसारण भएको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम र बिहीबार काठमाण्डौमा भएको एक सार्वजनिक समारोहमा उहाँले आफू ढाँटिएको भन्दै निरिहता प्रकट गर्नुभयो ।

‘भारतबाट पत्र आएको कुरा साँचो होइन हल्ला हो भनेर मैले भनेको थिएँ, तर परराष्ट्र, वाणिज्य र कृषि मन्त्रालय यो विषयमा जानकार रहेछन् । मलाई बताइएन । कुटनीतिक संवादबाट अनभिज्ञ राखियो । मैले २३ गते बेलुका मात्रै पत्र आएको बारेमा जानकारी पाएँ । त्यसबाट अत्यन्त दुःखी छु’ प्रधानमन्त्रीले भन्नुभयो । यसबाट आफू लज्जित भएको भन्दै उहाँले क्षमा पनि माग्नुभयो ।

थाहा हुनैपर्ने कुरा थाहा भएन भनेर प्रधानमन्त्रीले सार्वजनिक रुपमा बोलेको यो पहिलोपटक होइन । यसअघि पनि मेलम्चीको पानी आउने विषयमा आफूलाई कर्मचारीले झुक्याएको भनेर उहाँले बोल्नुभएको थियो । 

अघिल्लो वर्ष असारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी परियोजनाको कामको बारेमा आफूलाई सचिवले ढाँटेको भन्नुभएको थियो । सचिवले झुट बोल्दा आफू नागरिकको नजरमा गलत हुन पुगेको भन्दै उहाँले दुखेसो पोख्नुभएको थियो । ‘पटक पटक मेलम्ची आउँछ भन्ने, तर नआउने भएपछि मैले नोटबुकमा नै सचिवलाई मेलम्ची आउने मिति लेख्न भनें, तर उनले भनेको मितिमा पानी आएन, उल्टो ठेकेदार नै भाग्यो’ त्यतिबेला पनि प्रधानमन्त्रीले अहिले जसरी नै निरिहता प्रकट गर्नुभएको थियो ।

मेलम्चीको विषयमा मात्रै होइन, पोहोर दशैँताका चिनी अभाव हुँदा पनि प्रधानमन्त्रीले यसैगरी आफूलाई उद्योगीले झुक्याएको बताउनुभएको थियो । 

प्रधानमन्त्रीले मात्र होइन, मन्त्रीहरुले पनि आफूलाई कर्मचारीले झुक्याएको भनेर बेलाबेला बोल्ने गरेका छन् । विषादी प्रकरणकै कुरामा उद्योगमन्त्री मातृकाप्रसाद यादवले आफूलाई सचिवहरुले झुक्याएको भन्दै पन्छिन खोज्नुभयो । अहिले प्रधानमन्त्री आफैंले आफूलाई झुक्याइएको भन्दा पनि मन्त्रीहरु जिम्मेवारीबाट पन्छिन खोज्दैछन् ।

सचिवले मन्त्रीलाई झुक्याउने र मन्त्रीले प्रधानमन्त्रीलाई झुक्याउने तथ्य सार्वजनिक हुँदा राज्य संयन्त्र कसरी चलिरहेको छ भन्ने गम्भीर प्रश्न उठेको छ ।

एक त दुई तिहाई बहुमत भएका शक्तिशाली प्रधानमन्त्रीलाई कसैले झुक्याउनै नसक्नुपर्ने हो । उहाँलाई आवश्यक सूचना, जानकारी र सल्लाह दिनकै लागि सिंहदरबार र बालुवाटारमा ठूलै टिम खटिएको छ । प्रधानमन्त्री आफैँ पनि हरेक कुरामा हरक्षण अपडेट भैरहनुहुन्छ । फेसबुक र ट्वीटरमा सरकारको बारेमा लेखिएका टिकाटिप्पणी पढिरहनुहुन्छ । देश विदेशमा कहाँ के भैरहेको छ भनेर जानकारी लिइरहनुहुन्छ । 

राति अबेरसम्मै किताब पल्टाएर बसिरहनुहुन्छ । बाहिरका हरेक गतिबिधि थाहा पाइरहनुहुन्छ, तर थाहा पाउनै पर्ने कतिपय कुरा चाहिँ थाहा पाउनु हुँदो रहेनछ । आफ्नै मन्त्रीर सचिवहरुबाट झुक्किनु हुँदोरहेछ ।

त्यसो त देशको कार्यकारी ठाउँमा बसेका प्रधानमन्त्रीलाई सबै कुरा थाहा हुनुपर्छ । राष्ट्रिय महत्वको तथा देश र नागरिकलाई प्रत्यक्ष असर पर्ने कुरामा त पहिल्यै जानकार हुनुपर्छ । थाहा पाइनँ, झुक्किएँ भनेर सुखै पाइँदैन ।

देश चलाउने कुरा खेलाँची हैन । प्रधानमन्त्री र मन्त्रीहरुलाई राष्ट्रिय महत्वको विषयमा थाहा हुनैपर्छ । थाहा भएन भन्नै सुहाउँदैन, मिल्दैन सुख पाईंदैन । जसले थाहा दिनुपर्ने हो, त्यसले थाहा दिएन भने कारबाही गर्नुपर्छ । तर प्रधानमन्त्रीले मेलम्चीको पानी पोहोर नै आउँछ भनेर ढाँट्ने सचिवलाई कारबाही गर्नुभएको छैन । चिनी पर्याप्त छ भनेर झुक्याउने उद्योगीसँग स्पष्टीकरण लिनुभएको छैन । यसपटक भारतबाट आएको पत्र नदेखाउने आफ्नै मन्त्रीहरुसँग बेलैमा सोधपुछ गरेर सचेत गराउनुभएको छैन ।

धेरैपटक प्रधानमन्त्री आफैँले पनि विवादित अभिव्यक्ति दिने गर्नुहुन्छ । सरोकारवालासँग रायसुझाव नै नलिइकन विधेयक बनाउनुहुन्छ र त्यसमै चिप्लिनुहुन्छ । अरुलाई विश्वासमा लिनुको सट्टा गालीगलौज र आलोचनाबाट भाषण सुरु गर्नुहुन्छ । हल्का र सतही टिप्पणीमा रमाउनुहुन्छ । न आवश्यक ठाउँमा हस्तक्षेप गर्नुहुन्छ, न आफ्नो काम र बोलीमा नै लगाम लगाउन खोज्नुहुन्छ ।

यस्तै, भैरहने हो भने प्रधानमन्त्री अझै धेरै चिप्लिन र झुक्किन सक्नुहुन्छ । आफू झुक्किएन भने नागरिकलाई झुक्याउनै पर्दैन, अनि नागरिकलाई नझुक्याउने हो भने आफूलाई झुक्याउने पनि कोही हुँदैन । आफ्नै कारण पटकपटक आफैँ गुमराहमा रहनुपर्ने अवस्थामा पुगेका प्रधानमन्त्रीले यो कुरामा ध्यान दिन सक्नुहोला त ?

अन्तिम अपडेट: चैत ५, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया