हनुमन्तेले बगाएका एक युवाको सकुशल उद्धार

 असार २७, २०७६ शुक्रबार १९:४६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – २४ घण्टादेखि लगातार परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले  बगाएका एक युवाको प्रहरीले उद्धार गरेको छ ।

सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित हनुमन्ते खोला किनारमा हिँडिरहेको अवस्थामा काभ्रे कोशीपारी घर भई हाल बालकोट बस्ने ३२ वर्षीय सन्तोष पहरीलाई उर्लिएर आएको बाढीले बगाएको थियो । 

खोलाले बगाएलगत्तै महानगरीय प्रहरी प्रभाग बालकोट भक्तपुरको प्रहरी टोली र स्थानीयको सहयोगमा उद्दार गरी नागरिक अस्पताल गठ्ठाघरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । घाइतेको अबस्था गम्भीर भएको उहाँले जानकारी दिनुभयो ।

हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरको र मध्यपुर थिमिको बासिन्दाको जनजीवन कष्टकर बनेको छ । हनुमन्ते खोलाको किनारामा रहेका बस्तीका बासिन्दाहरुले बस्ती छाडेर सुरक्षित स्थानमा जान थालेका छन् ।

हनुमन्तेको बहाव बढेर बस्तीमा पानी पस्न थालेपछि जगाती, हनुमानघाट, चुपिनघाट, सल्लाघारी, राधेराधे, बालकोट, सागबारी लगायतका क्षेत्रमा टहरामा बस्दै आएका बासिन्दाहरु सुरक्षित स्थानतर्फ गएको प्रहरीले जानकारी दिएको छ ।

खोला किनाराका सयौँ घरमा बाढी पसेपछि यहाँका बासिन्दाले बस्ती छाडेका हुन् । बालकोटको नयाँ बेलिब्रिज र मध्यपुरथिमि दधिकोट जोड्ने हनुमन्ते पुल भासिएर भत्कने अवस्थामा पुगेको छ ।

जिल्ला प्रशासन कार्यालयले बाढीबाट सर्तक रहन र सुरक्षित स्थानमा जान खोला किनाराका बासिन्दालाई आग्रह गरेको छ भने उद्धार सामाग्री सहित सुरक्षाकर्मीलाई उच्च सर्तकतामा राखेको प्रजिअ नारायण भट्टले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया