शनिबार पनि देशका धेरै ठाउँमा हुरीबताससहित ठूलो पानी पर्ने सम्भावना

 असार २८, २०७६ शनिबार ७:२५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शनिबार पनि देशका धेरै ठाउँमा हुरीबताससहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मनसुनी न्यूनचापिय रेखामा न्यूनचापिय क्षेत्र पनि मिसिएपछि बिहीबार रातिदेखि नै मध्य र पूर्वका धेरै ठाउँमा हुरीबताससहित निकै ठूलो पानी परेको मौसम पुर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार यो प्रणाली पश्चिमसम्म नै फैलिएकाले शनिबार पश्चिमी तराईमा पनि ठूलो पानी पर्ने सम्भावना छ ।

शनिबार भने लगातार झरी भने नपर्ने उहाँको अनुमान छ । तर पनि धेरै ठूलो पानी पर्ने देखिएकाले पूर्व र मध्य क्षेत्रका पहाडी भेगमा पहिरो खस्ने तथा मध्य, पूर्व र पश्चिमको तराई क्षेत्रका नदीमा ठूलो बाढी आउँने भएकाले सजग भने हुनुपर्ने मौसमविद् श्रेष्ठको भनाइ छ ।

यस्तै हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिबिलिटिका कारण अवरोध आउने सक्ने भएकोले उच्च सतर्कता अपनाउनु उहाँको सुझाव छ । झरी नपरे पनि सोमबारसम्म नै केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

गएको २४ घण्टामा सिमरामा ३ सय ११ दशमलव ९ मिलिमिटर, जनकपुरमा २ सय ४५ दशमलव २ मिलिमिटर, धरानमा १ सय ५५ मिलिमिटर, काठमाण्डूमा १ सय १५ दशमलव २ मिलिमिटर र ओखलढुंगामा १ सय १ दशमलव ३ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया