टी-२० शृङ्खला : मलेसियाले नेपाललाई दियाे १२९ रनकाे लक्ष्य

 असार २८, २०७६ शनिबार ९:३९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

मलेसिया भ्रमणमा रहेको नेपाली टिमले पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टिमबाट १२९ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा नौ विकेट गुमाउँदै १२८ रन बनाएको थियो ।

मलेसियाका दुई जना खेलाडीले उत्कृष्ट ब्याटिङ गरे पनि अन्यको प्रदर्शन खराब रह्यो ।

पहिलो ओभरको पाँचौं बलमा नै नेपालले पहिलो सफलता हात पारेको थियो । सोपमाल कामीले पहिलो ओभरको पाँचौं बलमा सइद अजिजलाई आउट पार्दै पहिलो सफलता दिलाए । उनले रनको खाता नै खोल्न पाएनन् । त्यसपछि मलेसियाले आक्रामक रन बनाइरहेको अवस्थामा सन्दीप लामिछानेले फित्री सहमलाई पवेलियनको बाटो देखाए । सन्दीपले सातौं ओभरको पहिलो बलमा विकेट लिएका थिए । सहमले १२ रन बनाएका थिए ।

१५औं ओभरको दोस्रो बलमा भेटरान बलर बसन्त रेग्मीले क्रिजमा जमेका बलर विरानदिप सिंहलाई प्रदिप ऐरीबाट क्याचआउट गराए । विरानदिपले ४९ बलमा ७ चौका र एक छक्का प्रहार गर्दै ५७ रन बनाएका थिए ।

त्यसपछि क्रिजमा आएका साफिक सरिफलाई पनि बसन्त रेग्मीले कट एण्ड बोल्ड गरे । सरिफले जम्मा २ रन बनाउन सके । १८औं ओभरको चौथो बलमा नयाँ ब्याट्सम्यान अनिमुद्धिन रामले रनआउट हुन पुगे । क्रिजमा जमेका अर्का ब्याट्सम्यान अहमद फियाजलाई करण केसीले लिलित नारायण राजवंशीबाट क्याचआउट गराएपछि मलेसियाले ठूलो योगफल तयार गर्न सकेन ।

समग्रमा विरानदिपले ५७ र फियाजले ४५ रन बाहेक अन्यले राम्रो ब्याटिङ गर्न सकेनन् । मलेसियाका पाँच जना खेलाडीले खाता नै खोल्न सकेनन् । बलिङमा करण केसीले तीन विकेट लिए भने सन्दिप लामिछाने र बसन्त रेग्मी दुई–दुई विकेट लिए ।

नेपालले जवाफी ब्याटिङ सुरु गरेकाे छ । नेपालका लागि पारस खड्का र प्रदीप ऐरीले ओपनिङ गरेका छन् । ताजा अवस्थामा नेपालले २ ओभरकाे समाप्तिमा १६ रन बनाएर खेलिरहेकाे छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया