कमला नदीले बगाएका एक जनाको शव भेटियो, २ जनाको उद्धार, ३ अझै बेपत्ता

 असार २८, २०७६ शनिबार ११:३२:५३ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली – लगातारको वर्षापछि सिन्धुलीको कमला नदीमा शुक्रबार राति आएको बाढीले बगाएकामध्ये एक जनाको शव भेटिएको छ । त्यस्तै कमला नदीले बगाएका दुई जनालाई सकुशल उद्धार गरिएको छ भने तीन जना अझै बेपत्ता रहेका छन् ।

सर्लाही जिल्ला घर भई मजदुरी गर्न हाल सिन्धुलीको दुधौली नगरपालिका–४ डकाहा बजार नजिक छाप्रो हालेर बस्दै आएका एकै परिवारका ५ जनालाई शुक्रबार कमला नदीमा आएको बाढीले बगाएको हो ।

बाढीले बगाएकामध्ये ३ वर्षीय कार्बन कापरीलाई बैरास्थित कमला नदीको बगरमा मृत अवस्थामा फेला पारिएको सिन्धुलीका प्रहरी प्रमुख(एसपी) चत्रबहादुर सिंहले जानकारी दिनुभयो । उहाँले १८ वर्षीय मिथुन कापरी र उहाँकी भाउजु २३ वर्षीया रेणु कापरीलाई सकुशल उद्धार गरिएको बताउनुभयो ।

उनीहरुको आमा मेमोरियल अस्पताल डकाहामा उपचार भइरहेको छ । रेणुको १ वर्षीया छोरा सर्जन, ७ वर्षीय छोरा आँधी र मिथुनको फुपु ६० वर्षीया मरणी कापरी नदीले बगाएर बेपत्ता अवस्थामा रहेका र उनीहरुको खोजी कार्य भइरहेको एसपी सिंहले जानकारी दिनुभयो ।

गोलाञ्जोर गाउँपालिका–५, खनियाखर्क नजिक शुक्रबार राति गएको पहिरोले बीपी राजमार्ग पुनः अवरुद्ध बनेको छ । पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले बताएको छ । तीन दिनदेखि लगातार भइरहेको वर्षाले सिन्धुलीको जनजीवन अस्तव्यस्त नै बनाएको स्थानीय बासिन्दाले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया