यूएईस्थित नेपाली दूतावासद्वारा कामदारको स्वास्थ्य परीक्षण, बजेट सक्ने मेसाे मात्रै भन्दै सामाजिक सञ्जालमा विराेध

 असार २८, २०७६ शनिबार १४:१५:८ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – यूएईमा रहेको नेपाली दूतावासले नेपाली कामदार कार्यरत रहेका कम्पनीका मजदुर क्याम्पमा स्वास्थ्य शिविरसहित सचेतना कार्यक्रम गरेको छ ।

शुक्रबार अबुधाबी नेशनल होटलअन्तर्गत अलऐन क्याम्प र सारजाहस्थित ल्याक्नोर नेशनल फूड प्रोडक्ट कम्पनीमा कार्यरत नेपाली कामदारको स्वास्थ्य उपचार र सचेतनामूलक छलफल गरेकोे हो । 

कार्यक्रममा सहभागी कामदारको नि:शुल्क स्वास्थ्य परिक्षण गरिएको छ । मेडियर र लाइफलाइन अस्पतालसँगको प्राविधिक सहयोगमा नेपाली कामदारको स्वास्थ्य परीक्षण गरिएको हो । अलऐनमा १ सय ५० जना र सारजाँहमा १ सय जना गरी २५० जनाको स्वास्थ्य परीक्षण भएको लाइफलाइन अस्पतालकी बजार प्रतिनिधि रन्जिना गुरुङले बताउनुभयो । 

स्वास्थ्य परीक्षणमा धेरै जनामा उच्च रक्तचाप र मधुमेहको समस्या देखिएकोले खानपान र नियमित व्यायाम गर्न चिकित्सकले सुझाव दिएका छन् । यस्तै सहभागी कामदारबीच दूतावासको टोलीले कामदारका समस्या, तथा त्यहाँ बस्दा ध्यान दिनुपर्ने विषय, सवारी नियम, कमाएको पैसाको उचित प्रयोग, सुरक्षित बचत र घरमा पैसा पठाउँदा वैैधानिक बाटोको प्रयोग गर्नेबारे जानकारी गराएको छ ।

नेपाली कामदारलाई आइपरेका समस्या बुझ्ने, समाधानको उपाय खोज्ने साथै दूतावासले दिने सेवासुविधाका विषयमा जानकारी दिन सचेतनामूलक कार्यक्रम गरिएको दूतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो ।

कार्यक्रममा कामदारहरुलाई सम्बोधन गर्दै यूएईका लागि राजदूत कृष्णप्रसाद ढकालले यूएईसँग हालै नेपालले गरेको श्रमसम्झौता कार्यान्वयनमा आएपछि नेपाली कामदारका सबैजसो अपेक्षा सम्बोधन हुने बताउनुभयो । 

वार्षिक कार्यक्रम अन्तरगत दूतावासले गएको वर्षदेखि मजदुर क्याम्पमा सचेतना अभियानलाई निरन्तरता दिदै आएको हो । यसअघि दूतावासले अबुधाबी र दुबईमा यस्तै कार्यक्रम गरेको थियो ।

कार्यक्रममा कामदारको गुनासो 

कार्यक्रममा नेपाली कामदारले करार अवधि पूरा भएर घर फर्कँदा कतिपय रोजगारदाताले हवाई टिकट उपल्बध नगराएको जस्ता विभिन्न गुनासा राखेका थिए । 

यस्ता गुनासाहरुबारे बोल्दै श्रम काउन्सिलर भेषबहादुर कार्कीले रोजगारदातासँग भएको सम्झौता अनुसारको सेवा नपाएमा दूतावासलाई जानकारी गराउन आग्रह गर्नुभयो ।  

आफूहरुले यूएईमा अप्ठेरोमा परेका नेपालीहरुलाई आफूले नै चन्दा संकलन गरेर सहयोग गरेको भन्दै कार्यक्रममा उपस्थित कामदारहरुले यसरी चन्दा कहिलेसम्म उठाउनु पर्ने हो भनेर दूतावास प्रतिनिधिलाई सोधेका थिए । 

‘कहिले कोही नेपाली बिरामी हुन्छन्, कहिले कुनै चेलीलाई उद्दार गर्नुपर्छ, यस्तै विभिन्न समस्या समाधानका लागि हामीले नै चन्दा संकलन गरेर सहयोग गर्छौँ’, उनीहरुको प्रश्न थियो, ‘दूतावासले गर्नुपर्ने कुरा हामीले कहिलेसम्म गर्ने ?’

जवाफमा राजदूत ढकालले कल्याणकारी कोष स्थापनाका लागि प्रयास भइरहेको जानकारी गराउनुभयो । ‘हामीले एक महिना पहिले नै यो विषयबारे  सम्बन्धित मन्त्रालयमा पत्राचार गरिसकेका छौ’ उज्यालोसँग कुरा गर्दै राजदूत ढकालले भन्नुभयो ‘कानुनी रुपमा व्यवस्था गरेर, सरकारले निर्देशन गरे दूतावास कल्याणकारी कोष स्थापना गर्न तयार छ ।’

यस्तै दूतावासमा सेवा शुल्क बापत नगद रकम लिने व्यवस्था झन्झटिलो भएकाले स्थानीय बैंकका डेबिट तथा क्रेडिट कार्डबाट पनि भुक्तानी गर्न मिल्ने व्यवस्था गर्न कामदारले अनुरोध गरेका थिए ।

बजेट खर्च गर्ने मेसो

दूतावासले असार महिनाको अन्तिम साता मजदुर शिविरमा बजेट खर्च गर्न कार्यक्रम गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भएको छ ।

सामाजिक सञ्जालमा दूतावासको विरोध भएको विषयमा उज्यालोसँग कुरा गर्दै राजदूत ढकालले सचेतना कार्यक्रमका लागि दूतावासले एक रुपैयाँ पनि खर्च नगरेको बताउनुभयो ।

कार्यक्रमका लागि हलको व्यवस्थापन कम्पनी आफैले र स्वास्थ्य परीक्षण अस्पताल आफैले गरिदिएको भन्दै  कर्मचारीले पनि आफ्नो नियमित सेवास्वरुप शुक्रबार अतिरिक्त काम गरेको र कुनै भत्ता नलिएको बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया