तीन वडाध्यक्षकाे संलग्नतामा भएकाे कुटपिटमा युवककाे ज्यान गयाे

 असार २८, २०७६ शनिबार १९:३३:५ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - तीन जना वडाध्यक्षकै अगाडि कुटपिट गरिएका एक व्यक्तिको मृत्यु भएकाे दुई दिनपछि आफन्तले शव उठाएका छन् । 

विराटनगर–१४ जतुवाका समानन्द यादवलाई गत जेठ ३२ गते विराटनगर महानगरपालिकाका वडाध्यक्ष, वडा नम्बर १८ का वडाध्यक्ष र जहदा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्षकै अऊाडि कुटपिट गरिएपछि  यादवको शुक्रबार मृत्यु भएको थियो ।

घटना भएको लामो समय बितिसक्दा समेत प्रहरीले अभियुक्तहरुलाई पक्राउ गर्न आनाकानी गरेको मृतकका आफन्तको आरोप छ । प्रहरीले  अनुसन्धानपछि घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्ने आश्वासन दिएपछि शव उठाइएको हाे ।

यादवलाई कुटपिट गरेकाे आरोप लागेका  तीनै जना वडाध्यक्षसहित अन्य व्यक्तिहरु विरूद्ध निवेदन दर्ता गरिएको भए पनि  उनीहरू पक्राउ  नपरेको मृतकका छोरा राजेश यादवको भनाइ छ ।

विराटनगर–१४ का वडा ध्यक्ष बालदेव यादवको घरमा भेला भएका स्थानीयबासीको समूहले आफ्नो बावुलाई बेहोश हुने गरी कुटेको छोरा राजेशले बताए।

पीडित परिवारले विराटनगर–१४ का वडाध्यक्ष यादवसहित १८ का वडाध्यक्ष संजय साह र जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीप यादवकै अगाडि कुटपिट भएको प्रहरीमा उजुरी दिएका छन् ।

अन्तिम अपडेट: चैत २, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया