बाढी र पहिरोका कारण अवरुद्ध सडक खुलाउन केही दिन लाग्ने

 असार २९, २०७६ आइतबार ८:१३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बाढी र पहिरोका कारण अवरुद्ध सडक खुलाउने पहल भैरहेको सडक विभागले जनाएको छ । विभागका अनुसार काठमाण्डौबाट बल्खु हुँदै हेटौँडा जोड्ने सडक खुल्न अझै चार दिन लाग्ने भएको छ ।

मकवानपुरको कुलेखानी सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेकाले पहिरो पन्छाउन चार दिन जति  लाग्ने सडक विभागले जनाएको छ । यस्तै अवरुद्ध बीपी राजमार्ग खुलाउन पनि एक, दुई दिन लाग्ने भएको छ । काभ्रेको रोशी गाउँपालिका ११ माम्तीमा र सिन्धुलीको सुनकोशी गाउँपालिका १ कमेरेमा सडकमा लेदो माटो खसेर राजमार्ग अवरुद्ध बनेको हो । काभ्रे भिरमा चट्टान काटेर सडक बनाउनुपर्ने भएकाले अझै केही दिन लाग्न सक्ने विभागको भनाइ छ ।

मुस्ताङको थामाङ गाउँपालिका ४ घोप्टेभीरमा कालीगण्डकी नदीमा पानीको वहाव बढेर बेनी जोमसोङ जाने सडकखण्ड अवरुद्ध भएको छ । यो खण्डमा भने बिस्तारै पानी पर्न कम भएर पानीको सतह घट्दै गएपछि सडक सञ्चालनमा आउने प्रहरीले जनाएको छ । 

बाढीले कटान गर्दा अवरुद्ध भएको  उदयपुरको घुर्मी  कटारी सडक खण्ड सञ्चालनमा आउन पनि केही दिन लाग्ने भएको छ । सिद्धिचरण राजमार्ग सञ्चालनमा आउन भने कम्तीमा ३ दिन लाग्ने भएको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ मा पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको हो । 

यस्तै, पहिरोका कारण अबरुद्ध रहेको मेची राजमार्ग अन्तर्गत राँके—फिदिम सडकखण्ड शनिबारदेखि एकतर्फी रुपमा खुलेको छ । सडक विभागले अत्यावश्यक अवस्थाबाहेक क्षति पुगेका  वा संवेदनशील देखिएका सडक प्रयोग नगर्न सबैसँग आग्रह गरेको छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया