६५ वर्ष पूरा भएकालाई ज्येष्ठ नागरिकको मान्यता दिन सरकारलाई दबाब

 असार २९, २०७६ आइतबार १५:२९:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन सरकारलाई दबाब दिन सुरु गरेको छ । 

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिक तोक्न सरकारलाई दबाब दिनुभएको हो । आइतबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिक सम्बन्धी विधेयक’ माथिको छलफलमा भाग लिँदै उहाँले ज्येष्ठ नागरिकको उमेर ७० वर्ष नै राख्नुपर्ने सरकारको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने पार्टीको पुरानै अडान दोहोर्‍याउनु भयो । 

सचेतक भुसालले भूगोललाई हेरेर पनि सरकारले ६५ वर्ष उमेर पूरा गरेका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिएर सेवा, सुविधा उपलब्ध गराउनुपर्ने तर्क गर्नुभयो । उहाँले विधेयकमा ‘अति ज्येष्ठ नागरिक’ भन्ने प्रावधान राखिएकोमा पनि आपत्ति जनाउनु भयो । ज्येष्ठ नागरिकहरुलाई वर्गीकरण गर्न नहुने उहाँको भनाइ थियाे । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद विनुकुमारी श्रेष्ठले पनि ज्येष्ठ नागरिकहरुलाई वर्गीकरण गर्ने काम नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयाे । उहाँले ८० वर्ष पूरा भएका नागरिकलाई विशेष सुविधाको व्यवस्था गर्न हुने तर ज्येष्ठ नागरिकहरुमाथि नै विभेद हुने गरी अति ज्येष्ठ नागरिक भन्ने प्रावधान भने राख्न नहुने स्पष्ट पार्नुभयो ।

सरकारले समितिमा पेश गरेको विधेयकमा ८० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई 'अति ज्येष्ठ नागरिक' को मान्यता दिने प्रावधान राखिएको छ । त्यसप्रति सत्तारुढ नेकपाकै सांसदहरुको पनि असहमति छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया