आफूलाई अपराधी जस्तो व्यवहार गरिएको उपकुलपति कोइरालाको आरोप

सरकार भन्छ: बिदा स्वीकृत नगरी जान मिल्दैन

 असार २४, २०७५ आइतबार १३:५३:५३ | उज्यालो सहकर्मी

काठमाडौं - नेपाल सँस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाले राज्यले आफूलाई अपराधी जस्तो व्यवहार गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

सँस्कृतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै क्यानडा जान लागेका बेला आफूलाई त्रिभुवन विमानस्थलबाट फिर्ता गरेर प्राज्ञिक व्यक्तिलाई अपराधीलाई जस्तो ब्यवहार गरेको उहाँको भनाई छ ।

उज्यालो अनलाइनसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘घटनाले प्राज्ञिक क्षेत्रकै बेइज्जत गर्यो, त्यो पनि विदेशसम्म ।’

आफूले यसअघिको प्रकृयाजस्तै गरी विश्वविद्यालयका सहकुलपति तथा शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई कार्यक्रमबारे जानकारी दिंदै बिदाको निवेदन दर्ता गराएको उहाँले बताउनुभयो ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा आफूले यही प्रकृया अपनाएर भारत र चीन गएको र अहिलेपनि त्यही प्रकृया अपनाएको उपकुलपति कोइरालाको भनाई छ ।

‘सिधै कुलपतिज्यूलाई पनि जानकारी दिन सकिन्थ्यो’ उहाँले भन्नुभयो, ‘तर सहकुलपतिले आफ्नो मानहानी भयो भन्ने ठान्न सक्ने भएकाले आफूले सहकुलपतिमार्फत प्रकृया अघि बढाएको थिएँ ।’ 

आफूलाई विमानस्थलबाट छापामार शैलीले बालुवाटार पुर्‍याएर उडानको समय सकिएपछि छोडिएको घटनाले कम्युनष्टिहरु सँस्कृतप्रति कति कठोर छन् भन्ने देखाएको आरोप पनि उहाँले लगाउनुभयो ।

आफूलाई प्रधानमन्त्रीले भेट्न चाहेको भनेर विमानस्थलबाट बालुवाटार पुर्याइएको अनि १ घण्टा राखेपछि प्रधानमन्त्री अरु नै काममा व्यस्त रहेकाले अब घर जाँदा हुन्छ भनेको जानकारी दिंदै उहाँले उपकुलपति जस्तो प्राज्ञिक व्यक्तिलाई यो हदको अपमान गरिनु देशकै बौद्धिक र प्राज्ञिक क्षेत्रको बेइज्जती भएको टिप्पणी गर्नुभयो ।

बिदा स्वीकृत नभएको सरकारको दाबी 

सरकाले भने उपकुलपति कोइरालाले बिदा स्वीकृत नै नगरेको दाबी गरेको छ ।

नेपाल सँस्कृत विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षामन्त्री गिरिराजमणी पोखरेलका प्रेस संयोजक सुनिल खड्काले आफूले थाहा पाएसम्म उपकुलपति कोइरालाको बिदा स्वीकृत नै नभएको बताउनुभयो ।

उपकुलपति कोइरालाले आफ्नो भ्रमणबारे कागजी प्रकृया अघि बढाएपनि कस्तो कार्यक्रम हो ? त्यहाँ के के बोल्ने लगायत विषयमा कुनै जानकारी नगराएको र आफू जाँदैछु भनेर प्रधानमन्त्री र शिक्षामन्त्रीलाई समेत केही जानकारी नगराएको उहाँले जानकारी गराउनुभयो । 

तर, उपकुलपति कोइरालाले भने सरकारले जे जे भनेपनि त्यो बहाना मात्र भएको र सुशील कोइरालाले नियुक्त गरेको कारण नै बामपन्थी सरकारले यस्तो अपमान गरेको उहाँले आरोप लगाउनुभयो । उहाँलाई २०७२ साल भदौ ७ गते ४ वर्षका लागि नेपाल सँस्कृत विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरिएको थियो । 

क्यानडामा आयोजना हुन लागेको १७ औं विश्व सँस्कृत सम्मेलनमा उपकुलपति कोइरालासहित नेपालबाट प्राध्यापक काशिनाथ न्यौपाने, सहप्राध्यापक नवराज कट्टेल, सहप्राध्यापक लेखप्रसाद निरौला, उपप्राध्यापक प्रेमराज न्यौपाने, सहप्राध्यापक गणेश घिमिरे र उपप्राध्यापक केशव कोइराला सहभागी हुन जाने क्रममा कोइरालालाई भने सरकारले विमानस्थलबाट फर्काइदिएको हो । बाँकी सहभागी शनिबार बेलुकै क्यानडातर्फ लागेका छन् ।

तीन तीन वर्षमा हुने सम्मेलनमा १ सय ११ देशका संस्कृतप्रेमी भेला हुन्छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया