बाढीमा फसेका निर्माणाधीन ह्वासिन सिमेन्ट उद्याेगका कामदारकाे उद्धार

 असार ३०, २०७६ सोमबार ७:५८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ - १५ अर्बको लगानीमा दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिकाको २ ताल्तिमा निर्माणधिन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योगमा आइतबार राति आएको बाढीले क्षति पुर्‍याएकाे छ । 

खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएको बाढीले क्षति पुर्‍याएकाे उद्याेगका सूचना अधिकारी तुलसीजंग थापाले जानकारी दिनुभयाे ।  

रातिको समयमा बाढी आएकाे र बाढीमा फसेका ५ जना मजदुरलाई स्थानीय प्रहरी र ताल्तीका स्थानीयले उद्धार गरी बाहिर निकालेका छन् । दुबैतर्फ खोला बगेकोले बिच भागमा रहेको फलामका पोलहरुमा समातेर उनीहरु बचेका थिए । 

बाढीका कारण सिमेन्ट उद्योगको स्टोरमा क्षति पुगेको छ । ३ ओटा जीप र निर्माण स्थलमा प्रयोग भएको दुई वटा डोजर बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयाे ।

१५ अर्वको लगानीमा चिनियाँ ह्वासिन कम्पनीले उद्याेग निर्माण सुरु गरेको ४ महिना भएको छ । उद्याेग ९ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियाे । दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने उद्याेगकाे लक्ष्य छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया