विकसित राष्ट्रहरुको कार्बन उत्सर्जनका कारण अतिकम विकसित राष्ट्रहरु मारमा परे : प्रधानमन्त्री ओली

 असार ३०, २०७६ सोमबार १४:३१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर - रासस

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले पारेको नकारात्मक असरलाई न्यूनिकरण गर्न नागरिकलाई सशक्त बनाउँदै लैजानु पर्ने बताउनुभएकाे छ । 

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण विश्व अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न विश्वस्तरमा सहकार्यको आवश्यक्ता रहेको पनि बताउनुभयो ।

सोमबारबाट काठमाण्डाैमा सुरु भएको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले विकसित राष्ट्रहरुको कार्बन उत्सर्जनका कारण अतिकम विकसित राष्ट्रहरु पनि जलवायु परिवर्तनको मारमा परेको स्मरण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालले आगामी मार्च महिनामा जलवायु परिवर्तनसम्बन्धी विश्वस्तरीय ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना गर्ने उल्लेख गर्दै त्यसमा सहभागी हुन पनि वैज्ञानिकहरुलाई आग्रह गर्नुभयो । सम्मेलनमा जलवायु परिवर्तनले पारेका नकारात्मक असर न्यूनीकरणसम्बन्धी ठोस योजना तय गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनले पारेका नकारात्मक असरलाई न्यूनिकरण गर्न पर्वतीय देशहरुले मिलेर काम गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले सरकारले जलवायु परिवर्तनले नेपालको कृषि क्षेत्रमा पारेको नकारात्मक असरलाई न्यूनिकरण गर्न अन्तराष्ट्रिय संघ, संस्थाहरुसँग सहकार्य गरेर काम गरिरहेको पनि बताउनुभयो ।

वन तथा वातवरण मन्त्रालय र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) को संयुक्त आयोजनामा सुरु भएको सम्मेलनमा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत हिन्दुकुश हिमालय क्षेत्रका नीति, निर्माता तथा अनुसन्धानकर्मीहरु सहभागी छन् ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया