सम्बन्ध विच्छेदका घटना बढ्दो : वैदेशिक रोजगारीसँगै ‘फोर्स म्यारिज’ र ‘लभ म्यारिज’ मुख्य कारण

 असार ३०, २०७६ सोमबार २०:२६:१५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – विसं २०७५ भदौ १ देखि मुलुकी देवानी संहिता लागू भएसँगै लमजुङमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । 

लमजुङ जिल्ला अदालतको तथ्यांक अनुसार २०७६ असार समान्तसम्ममा सम्बन्ध विच्छेदको लागि १ सय ३८ जना महिला र ४५ जना पुरुषले मुद्दा दायर गरेका थिए । जिल्ला अदालतमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा अदालतले यसबारे जानकारी गराएको हो ।

लमजुङ जिल्ला अदालतका श्रेस्तेदार जगतबहादुर भण्डारीका अनुसार अदालतमा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दामध्ये १ सय १८ थान महिलाको सम्बन्ध विच्छेदको मुद्दा फर्स्यौट भएको छ भने १४ थान पुरुषको मुद्दा फर्स्यौट भएको छ । २० थान महिला र ३१ थान पुरुषको गरी ५१ थान सम्बन्ध विच्छेदका मुद्दा फर्स्यौट हुन बाँकी छ । 

‘गतवर्षको जिम्मेवारीबाट सरि आएको १८ थान महिला र १ थान पुरुषको गरी १९ थान सम्बन्ध विच्छेदका मुद्दा सबै फर्स्यौट भएका छन् । २०७५ साउनमा दर्ता भएका १९ थान महिलाका सम्बन्ध विच्छेदका मुद्दा सबै फस्र्यौट भएका छन्,’ श्रेस्तेदार भण्डारीले भन्नुभयो ।

वैदेशिक रोजगार, कम उमेरमै प्रेम गरी वैवाहिक जीवनमा बाँधिनुका साथै अन्य पारिवारिक, सामाजिक समस्याका कारण सम्बन्ध विच्छेदका घटना बढेको लमजुङ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यले बताउनुभयो ।

‘वैदेशिक रोजगारीसँगै ‘फोर्स म्यारिज’ र ‘लभ म्यारिज’ले पनि सम्बन्ध विच्छेदका घटना बढेका छन्,’ न्यायाधीश आचार्यले भन्नुभयो, ‘छोराछोरीको चाहना विपरीत अभिभावकले आफ्नै खुशीले उनीहरुको विवाह गरिदिँदा र सानै उमेरमा प्रेममा परि ‘लभ म्यारिज’ गर्दा पनि यस्ता घटना बढेका हुन सक्छन् ।’

मुख्यतः दाम्पत्य जीवनको बारेमा पूर्ण जानकारी नभएका, कानुनी प्रावधानका बारेमा जानकार नभएका, कलिला उमेरका केटाकेटीहरु आफ्नै खुशीले विवाह गर्ने र वर्ष दिन नबित्दै सम्बन्ध विच्छेद गर्ने क्रम बढ्दो रुपमा रहेको जिल्ला बार एशोसियसन लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनुभयो । 

‘सामाजिक सञ्जालको दुरुपयोगले पनि यस्ता घटना बढेका छन्,’ उहाँले भन्नुभयो । उहाँका अनुसार सम्बन्ध विच्छेदका घटना न्यूनीकरणका लागि परिपक्व उमेरमा विवाह गर्नु आवश्यक छ । 

‘आपसमा समझदारी र विश्वास भए स्वदेश–विदेश, नजिक–टाढा जहाँ रहे पनि दम्पतीबीचमा माया, प्रेम, अगाध हुन्छ,’ उहाँले भन्नुभयो, ‘जसका कारण सम्बन्ध विच्छेदका घटना कम हुन जान्छन् ।’

अन्तिम अपडेट: फागुन २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया