बाढी पहिरोमा आफन्त गुमाएका परिवारलाई कर्णाली प्रदेशले एक लाख दिने

 असार ३०, २०७६ सोमबार १९:१२:१८ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकारले बाढी पहिरोमा आफन्त गुमाएका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ दिने भएको छ । 

सोमबार बसेको ‘कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्’ ले डोल्पामा बाढी र पहिरोमा परि आफन्त गुमाएका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ दिने निर्णय गरेको हो । 

गएको असार २१ गते  डोल्पाको मुड्केचुला गाउँपालिकामा बाढीले बगाउँदा दुई जनाको ज्यान गएको थियो भने नौ जना बेपत्ता भएका थिए ।  

यस्तै बैठकले विपद्का समयमा उद्धार र राहतका लागि प्रदेशका दश वटै जिल्लामा आवश्यक सामग्रीको व्यवस्थापन गर्ने र गृह मन्त्रालयसँग समन्वय गरेर एक महिनाका लागि हेलिकोप्टर भाडामा लिएर सुर्खेतमा राख्ने निर्णय गरेको छ । 

‘उद्धारका सामग्री, आवश्यक खाद्यान्न, औषधिलगायत सबै जिल्लामा तयारी अवस्थामा राख्ने निर्णय भएको छ’, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव विनोद गौतमले भन्नुभयो, ‘बैठकले सुरक्षा निकायलगायत सबै तहलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ ।’  

त्यस्तै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रभावकारी रुपमा विपद् व्यवस्थापन कार्यमा लाग्न निर्देशन दिनुभएको छ । ‘विपद्का बेलामा उद्धार र राहतमा सरकार तयार छ’, मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘उद्धार तथा अन्य सामग्रीको अभाव भएमा तत्काल सरकारलाई जानकारी दिनुहुन आग्रह गर्दछु ।’ 

त्यस्तै उहाँले राप्ती लोकमार्ग, कर्णाली लोकमार्ग तथा जाजरकोट डोल्पा सडकमा डोजरसहितको टोलीलाई ४० किलोमिटरको दूरीमा क्याम्प खडा गरेर डोजरलगायत स्रोत साधनसहित बस्ने व्यवस्था मिलाउन भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिनुभएको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया