भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरासहितकाे प्रतिनिधि मण्डल संसद भवनमा

 असार ३०, २०७६ सोमबार १९:३९:१८ | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाल भ्रमणमा रहेको भेनेजुएलाको इन्टरनेशनल वामपन्थी युवा शक्तिको प्रतिनिधि मण्डलले नेपालको संसदीय अभ्यास र गतिविधिबारे जानकारी लिएको छ । 

नयाँ बानेश्वरको सङ्घीय संसद भवन पुगेर प्रतिनिधि मण्डलले नेपालको संसदीय अभ्यासबारे सांसदसँग जानकारी लिएको राष्ट्रिय सभाका सदस्य बलरामप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

भेजेनुएलाको प्रतिनिधि मण्डलमा निकोलस अर्नेस्टो मादुरो गुयरा पनि सहभागी हुनुहुन्छ । उहाँ भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको छोरा हुनुहुन्छ ।

नेपाल र भेनेजुएला दुवै देशले संविधानसभाबाट संविधान निर्माण गरेको र समाजवादको दिशातर्फ अग्रसर भैरहेको हुँदा अन्तरर्राष्ट्रिय मञ्चमा साझा धारणा बनाएर ऐक्यबद्धताका साथ मिलेर जाने विषयमा छलफल भएको सांसद बाँस्कोटाले जानकारी दिनुभयो ।

दुवै देशको आन्तरिक परिस्थिति र आगामी दिनमा सम्बन्ध विस्तार गरेर अघि बढ्ने सम्बन्धमा प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुसँग छलफल गरेको थियो । युवा सङ्घ नेपालको निमन्त्रणमा प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको हो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया