विदेश छोडेर गाउँमै गाईपालन : महिनाको लाखभन्दा बढी कमाइ

 असार ३१, २०७६ मंगलबार १८:३४:२८ | श्यामशितल परियार

लमजुङ – सुन्दरबजार नगरपालिका–७, पाउँदी पोखरेल गाउँका दिनेश पोखरेल १९ वर्षको उमेरमै कतार पुग्नुभयो ।

बुवाआमाको एक्लो छोरो भएकाले सानै उमेरमा कमाउने जिम्मेवारी थपिएपछि उहाँ विदेश जान बाध्य हुनुभएको हो । तर उहाँको मन विदेशमा रम्न सकेन । विदेशबाट फर्किएर गाउँमा गाईपालन गर्नुभएको छ । गाईपालनबाट भएको कमाइले उहाँले विदेशको बाटो बिर्सिसक्नुभएको छ ।

विदेशमा रमेन मन !

१२ कक्षा पास गरेपछि २०६४ सालमा कतार पुगेका दिनेशको काम होटलमा थियो । महिनाको जसोतसो ३५ हजार रुपैयाँ बच्थ्यो । तर ज्यान कतारमा भए पनि उहाँको मन भने गाउँघरमै हुन्थ्यो ।

साढे तीन वर्ष उहाँले कतारमा बिताउनुभयो । त्यसपछि फर्किनुभयो घर । रहर त गाउँघरमै केही गर्ने थियो । तर परिस्थिति सधैं कहाँ आफू अनुकुल भइदिन्छ र ?

दिनेशलाई फेरि कमाइको बाटो विदेश नै रोज्न पर्ने बाध्यता आइपर्‍यो । कतारबाट फर्किएर एक वर्ष बिताउनुभयो गाउँमा । तर केही व्यवसाय गर्ने मेसो पनि मिलेन । आम्दानीको स्रोत नभएपछि घर चलेन । त्यसैले त उहाँ फेरि २०६८ सालमा मलेसिया पुग्नुभयो । 

मलेसियामा साढे २ वर्ष बस्नुभयो । कमाइ राम्रै थियो ।

‘महिनामा ५५ हजार रुपैयाँ बच्थ्यो, तर बीचैमा कम्पनी बन्द भएपछि म नेपाल फर्किएको हुँ,’ उहाँ भन्नुहुन्छ । मलेसियाबाट फर्केपछि भने उहाँले वैदेशिक रोजगारीलाई सधैँका लागि बाईबाई गर्नुभयो ।

गाउँघरमै थाल्नुभयो व्यवसाय । गाउँकै व्यावसायिक गाईपालक किसान धु्रवराज पोखरेलले पनि उहाँलाई गाउँमै बसेर गाईपालनमा लाग्न सुझाव दिनुभयो । 

‘गाउँमै बसेर गाईपालन गरी मनग्य कमाउन सकिन्छ भन्दै गाईपालनमा लाग्न धु्रव दाइले सल्लाह दिनुभयो,’ उहाँको सुझावलाई मनन गर्दै गाईपालनमा होमिएँ,’ दिनेशले भन्नुभयो ।

उत्पादनले गाउँमै पायो उचित बजार र मूल्य    

२०७२ सालमा गोठ निर्माण गरी उहाँले गाईपालन व्यवसाय सुरु गर्नुभयो । सुरुमा ३ वटा जर्सी क्रस गाईबाट गाईपालन व्यवसाय सुरु गर्नुभएका दिनेशको गाईगोठमा अहिले साना–ठूला गरी १२ वटा गाई छन् । गोठमा ‘जर्सी क्रस’ र ‘होलेस्टेन क्रस’ जातका गाई छन् । 

उहाँले गाईपालन त सुरु गर्नुभयो । तर त्यसबेला गाउँका अन्य किसानको उत्पादनले खासै राम्रो मूल्य र बजार नपाएको देख्दा उहाँलाई कता कता डर थियो, कतै आफ्नो उत्पादनले पनि बजार र मूल्य नपाउने हो कि ! भन्ने । तर अहिले उहाँको उत्पादनले गाउँमै उचित बजार र मूल्य पाएको छ । 

दैनिक ९० लिटर दूध उत्पादन : १ लाख २० हजार कमाइ

उहाँको गाईगोठमा अहिले दैनिक ८ वटा गाईले नियमित दूध दिन्छन् । ‘अहिले दैनिक ९० लिटर दूध संकलन हुन्छ,’ उहाँले भन्नुभयो । उत्पादित दूध उहाँले स्थानीय चीज उत्पादकलाई बिक्री गर्नुहुन्छ । प्रतिलिटर ५४ रुपैयाँमा उहाँले दूध बिक्री गर्दै आउनुभएको छ । 

‘आफ्नोसँगै गाउँमा रहेका सबै गाईपालक किसानले उत्पादन गरेको दूध गाउँमै रहेको चीज उत्पादकलाई बेच्छौँ । गाउँमै आफूहरुको उत्पादनले उचित बजार र मूल्य पाउँदा खुशी छौँ,’ गाईलाई घाँस हाल्दै गरेका उहाँले मुस्कुराउँदै भन्नुभयो ।  

दूध बिक्रीबाट मासिक १ लाख २० हजार कमाइ हुने गरेको उहाँ बताउनुहुन्छ । ‘गाईको दाना, चोकरका साथै औषधीमा पनि खर्च हुन्छ,’ उहाँले भन्नुभयो, ‘सबै खर्च कटाएर महिनामा झण्डै ६० हजार रुपैयाँ वचत हुन्छ,’ ३० वर्षे दिनेशले हौसिंदै भन्नुभयो । 

विदेशको कमाइभन्दा स्वदेशको कमाइ धेरै    

विदेशको कमाइलाई आफूले घरगाउँमै पोखेको श्रम–पसिनाको कमाइले जितेको उहाँ बताउनुहुन्छ । ‘विदेशको कमाइमा भन्दा स्वदेशकै कमाइमा मलाई सन्तुष्टी मिलेको छ,’ उहाँले थप्नुभयो, ‘देशकै माटोमा हो श्रम पसिना बगाउने ।’    

अहिले गाईपालनबाटै सजिलोसँग घरव्यवहार चलाउनुभएको छ दिनेशले । काममा श्रीमती सिर्जना पोखरेलका साथै बुवा–आमा र काकाको पनि सहयोग मिलेको छ।

गाईकै स्याहार–सुसारमै प्रायः दिनेशको दैनिकी बित्ने गर्छ ।  

गाईपालनका लागि उहाँले आफ्नै ८ रोपनी जग्गामा नेपियर, सिओफोरका साथमा स्थानीय जातका घाँस पनि रोप्नुभएको छ । ‘अबको ३ महिनामा ५ वटा गाई थप्ने विचार गरेको छु,’ उहाँले भन्नुभयो, ‘अब यसै व्यवसायलाई अघि बढाउने सोच बनाएको छु ।

अन्तिम अपडेट: मंसिर १, २०७६

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया