कमिसनका लागि मन्त्री र कर्मचारीको 'सेटिङ', होटेलमै चल्छ मन्त्रालय

 असार ३१, २०७६ मंगलबार १९:४७:५७ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – प्रदेश २ को उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका कर्मचारीहरु कमिसनका लागि होटेल–होटेलमा बसेर योजनाको मूल्यांकन गरिरहेको रहस्य खुलेको छ ।

असार मसान्तको अन्तिममा कामको भुक्तानी दिनुपर्ने भएकाले मन्त्रालयमा कमिसन लिन असहज हुने डरले कर्मचारीहरु केही दिनयता जनकपुरका विभिन्न होटेलमा मूल्यांकनको काम गरिरहेको खुलासा भएको छ ।

आर्थिक वर्ष २०७५–०७६ मा मन्त्रालयले पर्यटन पूर्वाधार निर्माणका लागि ५० करोड रुपैयाँको काम उपभोक्ता समितिमार्फत गराएको छ । उपभोक्ता समितिहरुलाई काम गरेबापतको दिनुपर्ने भुक्तानी कमिसन लिएर कर्मचारीहरुले होटेलबाटै गरेको पाइएको छ ।

सोमरबार जनकपुरको वेलकम होटेलबाट कमिसन लेनेदनमा उपभोक्ता समितिको कार्य मूल्यांकन गरेका मन्त्रालयका इन्जिनियर तथा कर्मचारीले मंगलबार भने जनकपुर शिवचोकको सिटी स्टार होटेलबाट काम गरेका छन् ।

सिटी स्टार होटेलको कोठा नम्बर २०५ र २०८ मा मन्त्रालयका फाइल, प्रिन्टर, ल्यापटप लगेर कर्मचारीहरु काममा व्यस्त थिए ।  त्यस्तै काम गराउन उपभोक्ता समितिका पदाधिकारीहरु पनि फाइल र कमिसन बोकेरै होटेल पुगेका थिए । त्यति मात्र होइन, त्यहाँ राजपा नेपालकी प्रदेश सांसद रानी शर्मा तिवारीसमेत पुग्नु भएको थियो ।

होटेलमै कमिसनको सेटिङमा मन्त्रालयको काम भइरहेको थाहा पाएपछि पत्रकारहरुको टोली उनीहरुलाई पछ्याएका थिए । त्यसपछि कर्मचारी, काम गराउन पुगेका प्रदेश सांसद तथा उपभोक्ता समतिका पदाधिकारीहरु पालैपालो निस्केर मन्त्रालयतर्फ भागेका थिए । एक कर्मचारीले मन्त्रालयमा ठाउँ अभावको कारण होटेलमा आएर काम गर्ने गरेको प्रतिक्रिया दिए ।

स्रोतका अनुसार विगतका विभिन्न गतिविधिले आलोचित हुँदै आएका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री रामनरेश राय यादवको सेटिङमा कर्मचारीहरुले कमिसनबापत मोटो रकम असुल्न मन्त्रालय छाडेर होटेल होटेल पुगेका थिए । उहाँ राजपा नेपालबाट मन्त्री बन्नु भएको हो । फाइल सदर गरेबापत १५ देखि २५ प्रतिशतसम्म कमिसन कर्मचारीहरुले लिने गरेको र त्यसबाट मन्त्री यादवले समेत कमिसनको भागबण्डा पाउने गरेको स्रोतको दाबी छ ।

यता मन्त्रालयका निमित्त सचिव जगदीश गुप्ताले आफ्ना कर्मचारी होटेलमा गएर कमिसन लिएर काम गर्ने गरेको कुरा अस्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, ‘अर्को ठाउँमा पनि हामीले घर भाडामा लिएर इन्जिनियरलाई काम गर्न कार्यालय सञ्चालन गरेका छौँ । होटेलमा गएर काम गरेको कुरा साँचो होइन ।’

तर पत्रकारले पछ्याएपछि भागेर वन निर्देशनालयमा पुगेका कर्मचारीहरु भने होटेलमै देखिएका थिए ।

अन्तिम अपडेट: चैत ५, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया