विप्लवसँग वार्ताको प्रयास

 साउन १, २०७६ बुधबार ११:२५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - गएको जेठ ७ गते भोजपुरको ट्याम्के–मैयुङ गाउँपालिकाको धोद्रे जङ्गलमा प्रहरीको गोली लागेर भोजपुरकै कुदाककाउलेका तीर्थराज घिमिरे ‘राजु’ मारिए । 

उनी विप्लव नेतृत्वको नेकपामा लागेको २० दिनमै प्रहरीको गोली प्रहारबाट मारिन पुगेका थिए । राजुलाई प्रहरीले गिरफ्तार गरेपछि यादना दिएर गोली हानेको विप्लव समूहले दावी गर्यो भने प्रहरीले दोहोरो भिडन्तमा उनको ज्यान गएको भन्यो ।  

राजु मारिएको एक महिना नबित्दै असार ५ गते सर्लाहीमा फेरि एक जना विप्लव समूहका जिल्ला नेता प्रहरीको गोलीबाट मारिए । सर्लाहीको लालबन्दी नगरपालिकास्थित लखन्तीखोलामा विप्लवका जिल्ला नेता कुमार पौडेलको प्रहरीको गोली लागेर ज्यान गयो ।  

स्थानीय बासिन्दा र विप्लव समूहले पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली प्रहार गरी हत्या गरेको दाबी गरेका छन् । यो घटनामा पनि प्रहरीले पौडेल दोहोरो मुठभेडमा नै मारिएको दावी गर्दै आएको छ ।  

विप्लव समूहको गतिविधि राजनीतिक नभई आपराधिक रहेको भन्दै उसका गतिविधिमाथि गएको फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गर्दै सरकार विप्लव समूहप्रति कठोर रुपमा प्रस्तुत भएको थियो । ललितपुरको नख्खुमा फागुन १० गते विप्लव समूहले गराएको बम विस्फोटमा बाटोमा हिँड्दै गरेका एक जनाको ज्यान जानुका साथै २ जना घाइतेभएपछि सरकार विप्लवका गतिविधिप्रति कठोर बन्दै प्रतिबन्ध लगाउने निर्णयमा पुगेको हो ।  

त्यही अनुरुप प्रहरीले विप्लव समूहका नेताकार्यकर्तालाई देशैभरबाट पक्राउ गर्न थाल्यो । पक्राउ गर्ने र भाग्ने क्रम चलिरहँदा प्रतिबन्धको २ महिनापछि जेठमा पहिलो पटक विप्लवका नेताको प्रहरीको गोली प्रहारबाट ज्यान गयो ।  

त्यसपछि अहिलेसम्म ३ जना विप्लव समूहका नेता कार्यकर्ता मारिएका छन् । एक जना सुरक्षाकर्मीको पनि ज्यान गएको छ । 

भोजपुरका तिर्थराज घिमिरेको हत्याको बदला लिने भन्दै विप्लवसमूहले काठमाण्डौका विभिन्न ठाउँमा बम विस्फोट गराउने योजना बनाइरहेको थियो ।

विप्लवका कार्यकर्ताले त्यही योजना अनुरुप बम पनि बनाइरहेका थिए । तर जेठ १२ गतेका दिन बम बनाइरहेकै बेला अकास्मात विस्फोट हुँदा ५ जना विप्लवका कार्यकर्ताको ज्यान गयो । काठमाण्डौको सुकेधारा र घट्टे कुलोमा विप्लवका कार्यकर्ताहरुले बम बनाइरहेका थिए । त्यही दिन दुवै ठाउँमा अचानक बम विस्फोट हुन पुगेको थियो । त्यो घटनापछि सुरक्षाकर्मीले विप्लवका गतिविधि काठमाण्डौ केन्द्रित बनेको भन्दै विशेष खोजि अभियान चलायो । 

उता सर्लाहीको घटना सेलाउन नपाउँदै त्यसको २० दिनपछि भोजपुरमा फेरि एक जना प्रहरी र एक जना विप्लव कार्यकर्ताको दोहोरो भिडन्तमा ज्यान गयो ।गएको साता असार २५ गते बुधबार प्रहरीका अनुसार दोहोरो भिडन्तमा परेर प्रहरी जवान सञ्जीवकुमार राई र विप्लव समूहका नीरकुमार राईले ज्यान गुमाए ।  

यो बीचमा विप्लव समूहले भने आफूहरुको राज्य सञ्चालकहरुसँग वैचारिक लडाईं रहेको तर  सुरक्षाकर्मीमाथि धावा बोल्ने कुनै योजना नरहेको बताइरह्यो ।  

तर पनि प्रहरीले भने विप्लवका नेता कार्यकर्ता पक्राउ गर्ने क्रम जारी नै राख्यो । कैलाली, कञ्चनपुर, सोलुखुम्बु, कालिकोट, उदयपुर, भोजपुर लगायतका जिल्लामा प्रहरीले विशेष निगरानी राख्दै उसका नेता कार्यकर्ता पक्राउ गर्ने काम गर्यो । हुन त देशैभरका विभिन्न ठाउँबाट विप्लव समूहका नेता कार्यकर्ता पक्राउ परेका छन् । उसका स्थायी समिति सदस्यसम्मलाई प्रहरीले पक्राउ गरेको छ । 

वार्ताको प्रयास

पछिल्लो पटक प्रहरी र विप्लव समूहबीच मुठभेटको स्थिति बढ्दै गएपछि भने सरकार विप्लवसँग वार्ता गर्न लचक हुँदै विभिन्न सम्पर्क सूत्रमार्फत भेटघाट बढाएको छ । त्यसअघि गएको भदौमा सरकारले असन्तुष्ट समूहसँग वार्ता गर्न वार्ता टोली नै गठन गरेको थियो । तर त्यो वार्ता टोलीले अन्य विभिन्न समूहसँग वार्ता गरेर उनीहरुलाई शान्तिपूर्ण राजनीतिमा ल्याए पनि विप्लव समूहलाई भने वार्ताका लागि औपचारिक पत्र नै पठाएन ।

तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन वार्ताका लागि विभिन्न पहल गरेको भए पनि उनीहरु वार्तामा नआएको बताउनुभएको थियो । 

अहिले सरकार र विप्लव समूह दुवै वार्ताका लागि लचक बनेको पाइएको छ । एक साताअघि मात्रै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पैडेल विप्लवका नेता भेट्न कारागार नै पुग्नुभएको थियो ।  

नख्खु कारागारमा रहेका विप्लवका स्थायी समिति सदस्य एवं तत्कालीन मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ भेट्न महासचिव पौडेल कारागार नै पुग्नुभएको थियो । 

भेटमा वार्ताका लागि सम्पर्क सूत्र बनिदिन महासचिव पौडलले सुदर्शनलाई आग्रह गर्नुभएको बुझिएको छ । प्रहरी र विप्लव समूहबीच मुठभेट भइरहँदा फेरि देश द्वन्द्वतर्फ धकेलिन लागेको भन्दै नागरिक पनि त्रसित हुन लागेपछि सरकारले वार्तामार्फत नै यसको समाधानको प्रयास थालेको देखिन्छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बल प्रयोग गरेरै भए पनि विप्लव समूहलाई ठेगान लगाएरै छाड्ने भनेर पटक पटक भने पनि त्यसरी झनै अवस्था खराब हुने देखेपछि वार्ताको प्रयास भएको हो ।  

पछिल्लो पटक कारागारमा रहेका विप्लवका स्थायी समिति सदस्य सुदर्शनलाई भेट्न पनि प्रधानमन्त्री ओलीकै इच्छाअनुसार महासचिव पौडेल गएको स्रोतको दाबी छ ।

पक्राउ पर्नुअघि उज्यालोसँग भएको कुराकानीमा विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य सुदर्शनले आफूहरु वार्ताको विरोधी नरहेको भए पनि वार्ताका लागि सरकारले आफूहरुलाई औपचारिक आह्वान नै नगरेको बताउनुभएको थियो । 

अहिले सत्तारुढ दलका महासचिव पौडलले जेलमै गएर भेट्दा पनि विप्लव स्थायी समिति सदस्य सुदर्शनले वार्ताका लागि पार्टीमाथिको प्रतिबन्ध हटाउनुपर्ने, जेलमा रहेको कार्यकर्ता रिहा गर्नु पर्ने र वार्ताका लागि औपचारिक रुपमै पत्राचार गर्नुपर्ने सर्त पूरा भए मात्रै वार्ता सम्भव रहेको बताउनुभएको स्रोतको दावी छ ।  

अहिले महासचिव पौडलसँगै तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले पनि विप्लव नेतृत्वको नेकपाका नेताहरुसँग छलफल गरिरहनु भएको बुझिएको छ । देशलाई द्वन्द्वमा जान नदिन दुवै पक्ष जिम्मेवार हुनु पर्ने देखिएकाले सरकारले वार्ता र संवाद मार्फत नै निकास खोजिरहेको पाण्डेले बताउनुभयो । 

मधेस विखण्डनको मुद्दा उठाउँदै आएका सिके राउतलाई समेत वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा ल्याएको सरकारले विप्लवको समस्या पनि वार्तामार्फत नै सम्बोधन गरिने उहाँले बताउनुभयो । यसअघि पनि सरकारले सांसद पाण्डे संयोजक रहेको वार्ता टोलीको आग्रहमा वार्ताको वातावरण बनाउन भन्दै विप्लवका नेता कार्यकर्ता रिहा गरेको थियो । त्यो बेला विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ नै पक्राउ परेका थिए ।  

सरकारले बल प्रयोग गरेर मात्रै समस्या समाधान हुने नदेखेपछि वार्तामार्फत समस्याको समाधान खोजिरहेको हो । यो बीचमा विप्लव समूहले पनि विभिन्न जिल्लामा आफ्नो शक्ति देखाउन कम्मर कसेरै लाग्यो । काठमाण्डौमा बम पड्काउनेदेखि सोलुखुम्बुमा प्रहरी चौकी नियन्त्रण गर्न गएको घटना यसबीचमा सार्वजनिक भए । 

देशलाई द्वन्द्वको अवस्थाबाट मुक्त पार्न अब वार्ता गर्नुको कुनै अर्को विकल्प नभएको  भए पनि आफ्ना केही सर्तहरु पहिला पूरा गर्नु पर्ने विप्लव समूहले अडान राख्दै आएको छ । विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ताका लागि सकारात्मक भए पनि पक्राउ परेका नेता कार्यकर्ताको रिहाई र पार्टीमाथिको प्रतिबन्धका बारेमा पहिला सरकारले निर्णय गरोस् भन्ने चाहेको छ । 

तत्कालीन वार्ता टोलीकै संयोजक सोमप्रसाद पाण्डेले विप्लव नेतृत्वका नेकपाका विभिन्न नेताहरुसँग सरकारसँग वार्तामा आउनका लागि अनौपचारीक छलफल गरिरहनुभएको छ । वार्ता टोली गठन भएका बेला पनि आफूले पटक पटक अनौपचारिक रुपमा विप्लवका नेताहरुसँग कुरा गरेको तर औपचारिक रुपमा भने कुनै कुरा हुन नसकेको उहाँले बताउनुभयो । 

देशलाई अघि बढाउन वार्ता र संवादको अर्को विकल्प नभएकाले सरकार र विप्लव समूह दुवैले त्यसलाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने उहाँ बताउनुहुन्छ । अहिले भने विप्लवका नेताहरुसँग वार्ताको कुनै कुरा नभएको भए पनि वर्ताबाटै समस्या समाधान गर्नु जरुरी रहेको पाण्डेले बताउनुभयो । 

महासचिव पौडेलले विप्लवका नेतालाई जेलमा नै पुगेर किन र के का लागि भेट्नुभयो भन्ने बारेमा आफूलाई जानकारी नभएको भन्दै पाण्डेले वार्ताका लागि कहीँ न कहीँबाट प्रयास हुन राम्रै रहेको बताउनुभयो ।  

महासचिव पौडेल नै विप्लव नेता भेट्न जेल पुग्नुले प्रतिबन्धको ४ महिनापछि विप्लव समूहसँग पहिलो पटक वार्ताको प्रयास हुन लागेको बुझिएको छ । अहिले प्रारम्भिक चरणको छलफल भएको र यसपछि सरकारले औपचारिक पत्र पठाएर वार्ताको प्रकृया अघि बढाउने स्रोतको दाबी छ । विप्लव समूहले पनि वार्ताका लागि पहिला सरकारले औपचारिक पत्र पठाउनुपर्ने अडान राख्दै आएको छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया