लागुऔषधसहित सशस्त्र प्रहरीका सहायक हवल्दार पक्राउ

 साउन १, २०७६ बुधबार ११:२०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – विराटनगर महानगरपालिका–१६ हुलासमेटल चोकबाट लागुऔषधसहित सशस्त्र प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् ।

भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा सुनसरीको धरान उपमहानगरपालिका–२ घर भएका ३१ वर्षीय पूर्णबहादुर थापामगर पक्राउ परेको मोरङका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजकुमार खिउजुले बताउनुभयो । 

उनको साथबाट सशस्त्र प्रहरीमा कार्यरत परिचय पत्र र नेपाली नागरिकताको प्रमाण पत्र फेला परेको छ ।

साइकलमा झुण्ड्याएर ल्याइएको झोला जाँच गर्दा चिनी र चनामा लुकाइएको लागुऔषध फेला परेको थियो ।  प्रहरी नायब उपरीक्षक खिउजुका अनुसार उनले बोकेको झोलाबाट लुपिजेसिक ९९ एम्पुल, एभिल ८६ एम्पुल, डाईजेल्याब सय एम्पुल, फेनारगन २४ एम्पुल गरेर जम्मा ३ सय ९ एम्पुल लागुऔषध बरामद भएको छ ।

पक्राउ परेका थापामगरलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया