बाढी प्रभावित जिल्लामा खालि हात मन्त्री र नेताको ओइरो

 साउन १, २०७६ बुधबार १४:५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट – पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल चार जना मन्त्रीहरु लिएर बाढीबाट भएको क्षतिको अवलोकन गर्न गृह जिल्ला रौतहट पुग्नु भएको छ ।

पूर्व प्रधानमन्त्री नेपालको साथमा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, संसदको विकास समिति सभापति कल्याणी खड्का, नेकपा नेता तथा संघीय सांसद प्रभु साह,  राजपा अध्यक्ष मण्डलका अध्यक्ष अनिल कुमार झा, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, लगायतको टोली  बाढीले पुर्‍याएको क्षति र राहत तथा उद्धार कार्यको अवलोकन गर्न रौतहट पुगेको हो ।

सेनाको हेलिकोप्टरबाट बिहान रौतहट पुग्नुभएका गृहमन्त्री थापाले राहत राम्रोसँग वितरण पालिका प्रमुख तथा कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले अरु राहत चाहिए पनि आउने आश्वासन समेत दिनुभएको छ ।

टोलीमा रहेका पूर्वप्रधानमन्त्री नेपालले बाढी र डुबानको दीर्घकालीन समाधानका लागि सरकारले ठोस योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता बिमलेन्द्र निधिसहितको टोली पनि रौतहटमा पुगेको छ ।

बाढी र डुबानबाट प्रभावित रौतहटका नागरिकले खाना र बासको व्यवस्था सहज नभएको गुनासो गरेका छन् । मन्त्री र नेताको टोली खालि हात आएर आश्वासन मात्रै दिएर फर्केको बाढी पीडितले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया