मकवानपुरमा बर्सेनि बग्छ करोडौँको सडक

 साउन १, २०७६ बुधबार १८:५८:५८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरमा तीनै तहका सरकारले सडकमा करौडौँ रुपैयाँ खर्च गर्ने गरेका छन् । नयाँ सडक निर्माण, निर्माण भैसकेका सडकलाई थप निर्माण र सडकको स्तरोन्नति लगायतका काम गर्न वार्षिकरुपमा करोडौँ रुपैयाँ खर्च हुने गरेको छ । 

तर स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले सडक निर्माणका लागि गरेको करोडौँ रुपैयाँ बाढी र पहिरोमा बग्ने समस्या भने यथावत् नै छ । असार महिना सकिँदा लगातार वर्षाका कारण मकवानपुरका दशवटै स्थानीय तहमा बनाइएका केही सडक बाढी र पहिरोका कारण बगेका छन् ।

केही सडकहरु गाडी चल्नै नसक्ने अवस्थामा पुगेका छन् । तीनै तहका सरकारले प्रत्येक वर्ष सडक निर्माण र मर्मत सम्भारका लागि ठूलो बजेट विनियोजन गर्दछ ।ग्रेड नमिलेको, घुम्ती नै घुम्ती र भिरको बाटो, हिलो, जंगल, खेतबारीमा सडक निर्माण गरिएका कारण गाउँगाउँका सडकमा गरिएको लगानी बर्सेनि भेलसँगै बग्ने गरेको छ ।  

मकवानपुरको राक्सिराङ गाउँपालिकामा गएको आर्थिक वर्षमा नयाँ निर्माण गरिएका सडक बाढी र पहिरोसँगै बगेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । पहिले बनाइसकेका सडकभन्दा पनि गएको आर्थिक वर्षमा नयाँ ट्रयाक खोलिएका सडक बाढी र पहिरोको जोखिममा परेको उहाँले जानकारी दिनुभयो । 

‘बाढी र पहिरोका कारण वर्षौं अघि बनेका र गाउँपालिका पुग्ने सडक समेत अबरुद्ध बनेको छ । अबको केही दिनमा नै निर्माण गरिनेछ', अध्यक्ष मल्लले भन्नुभयो ।  

मकवानपुरमा स्थानीय तह गठनपछिका २ वर्ष र त्यसअघि बर्सेनि सडकमा निर्माण र मर्मतको नाममा करौडौँ बजेट खन्याइएको छ । बनेका सडक कति बगे, ती सबै विवरण आइनसकेको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले बताउनुभयो । बाढी र पहिरोका कारण अहिले कैलाश जाने तीनैतिरका सडक बिग्रिएको र गाउँका नयाँ सडकहरु धेरैजसो भत्किएको उहाँले जानकारी दिनुभयो ।  

बर्सेनि सडक बग्दा यहाँका स्थानीयले सास्ती खेप्ने गरेका छन् । मकवानपुरका विकट राक्सिराङ, कैलाश, बागमती लगायतका गाउँपालिकाका केही वडामा असारदेखि कात्तिकसम्म ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने स्थानीय बासिन्दाले बताएका छन् । गाउँमा उत्पादन भएको तरकारी बजारसम्म पुर्‍याउन र बजारबाट दैनिक उपभोग्य सामान गाउँमा लैजान समस्या भएको उनीहरुको गुनासो छ । 

सडक अवरुद्ध भएकै कारण मकवापनुरको मनहरी गाउँपालिकाको हाँडीखोलामा उत्पादित तरकारी बजारसम्म पुर्‍याउनका लागि किसानहरुले सबैभन्दा धेरै सास्ती खेप्नुपरेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । गाउँका सडक अवरुद्ध हुँदा गर्भवती महिला, बुढाबुढी र बिरामीले बाढी र पहिरोले बगेका सडकमा यात्रा गर्दा सबैभन्दा धेरै सास्ती खेपेका छन् ।

यसअघि हरेक सडक योजनामा डोजर लगाएर खन्ने, खोस्रने र पुर्ने काम मात्र भएकाले अहिले सास्ती खेप्नुपरेको स्थानीयले दाबी गरेका छन् । योजनाबद्ध र सुरक्षाका प्रविधि उपयोग नगर्दा हरेक वर्षको बजेट बाढी र पहिरोसँगै बगेको छ । 

बाढी, पहिरोका कारण धेरै सडक बिग्रिएको र अब बनाउने तयारी भैरहेको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाइँले बताउनुभयो । वर्षौंअघि बनेका र पछिल्ला दुई वर्षमा बनेका सडक बिग्रिएकाले अबको केही दिनमा खुलाइसक्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

1 Comments

  • Poshak bhandari

    July 17, 2019, 7:34 p.m.

    के गर्ने long term vision नभएपछि यस्तै हुन्छ । अब स्थानिय सरकारले सडक बनाउदा अलि विचार गर्ने पाे हाे की ?

  •  0 Reply

तपाईको प्रतिक्रिया