६ महिनामा भित्रिए झण्डै ६ लाख पर्यटक, पोहोरभन्दा १२ दशमलव ६ प्रतिशतले धेरै

 साउन १, २०७६ बुधबार १८:०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सन् २०१९ को पहिलो छ महिनामा झण्डै ६ लाख पर्यटक नेपाल घुम्न आएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीदेखि जुनसम्म नेपालमा ५ लाख ८५ हजार पाँच सय ३१ जना पर्यटक घुम्न आएका छन् । यो संख्या सन् २०१८ को यही अवधिको तुलनामा १२ दशमलव ६ प्रतिशतले धेरै हो । 

आप्रवासन विभागका अनुसार सन् २०१९ को जुन महिनासम्ममा ४ लाख ९० हजार पाँच सय ३४ जना पर्यटक हवाई मार्ग भएर नेपाल भित्रिएका छन् । त्यस्तै ९४ हजार नौ सय ९७ जना स्थलमार्ग भएर नेपाल भित्रिएका छन् ।  

यो वर्षको पहिलो ६ महिनामा भारतबाट नेपाल घुम्न आउने पर्यटक सन् २०१८ को यही अवधिभन्दा ७ दशमलव ३६ प्रतिशतले बढेका छन् । दक्षिण एसियाबाट पछिल्लो ६ महिनामा नेपाल आउने पर्यटकको संख्या पनि १० दशमलव ४ प्रतिशतले बढेको छ । याे वर्क्षकाे पहिलाे ६ महिनामा नेपाल आउने भारतीय पर्यटककाे संख्या १ लाख ३ हजार ४ सय ६१ रहेकाे छ । त्यस्तै सार्क राष्ट्रबाट यो अवधिमा १ लाख ४४ हजार नौ सय ९७ जना पर्यटक आएका छन् । 

यस्तै चीनबाट आउने पर्यटकको संख्या पनि पहिलो ६ महिनामा ८५ हजार तीन सय १८ पुगेको छ । यो संख्या सन् २०१८ को भन्दा १९ दशमलव ५३ प्रतिशतले धेरै हो । थाइल्याण्ड, दक्षिण कोरिया र जापानबाट नेपाल आउने पर्यटकको संख्या पनि सन् २०१८ को यही अवधिमा क्रमशः ३८ दशमलव १५ प्रतिशत, ५ दशमलव ३४ प्रतिशत र १७ दशमलव ९ प्रतिशतले बढेको छ ।  

सन् २०१९ को पहिलो ६ महिनामा युरोपेली देशबाट आउने पर्यटकको संख्या १ लाख चार हजार सात सय ८३ पुगेको छ । बेलायतबाट र जर्मनीबाट क्रमशः २८ हजार नौ सय ५१ र १८ हजार ६  सय ७  पर्यटक नेपाल भित्रिएका छन् ।  जुन गएकाे वर्षकाे पहिलाे ६ महिनामा भन्दा क्रमश: ४ दशमलव १७ र १२ दशमलव ८ प्रतिशतले बढेको छ ।

अमेरिकाबाट नेपाल आउने पर्यटकको संख्या पनि याे वर्ष अघिल्लाे वर्षकाे तुलनामा बढेकाे छ ।  यही जुन महिनासम्म  ४८ हजार २ सय १ अमेरिकी पर्यटक नेपाल आएका छन्  जुन गएको वर्षको तुलनामा १० प्रतिशतले बढी हो । त्यस्तै अष्ट्रेलियाबाट पहिलो ६ महिनामा १६ हजार सात सय ६१ रहेको छ, जुन सन् २०१८ को यही अवधिमा ४ दशमलव १ प्रतिशतले बढी हो ।  

सन् २०१९ को जुन महिनामा मात्र ६८ हजार सात सय ८२ जना पर्यटक नेपाल आए । यो संख्या सन् २०१८ को जुन महिनाको तुलनामा ५ दशमलव ६ प्रतिशतले बढी हो । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया