साझाले आफ्नो आर्थिक स्वास्थ्य सुधार्नुपर्छ, बदमासी गरे मिडिया छँदै छ नि : मन्त्री बाँस्कोटा

 साउन २, २०७६ बिहिबार १७:१३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले साझा यातायातले पहिला सफलता हासिल गरेकाले विद्युतीय बस खरिदका लागि ३ अर्ब रुपैयाँ दिन लागेको प्रष्ट पारेको छ ।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले साझाले आफ्नाे अवस्था सुधार्दै जानुकाे विकल्प नरहेकाे बताउनुभयाे ।

पत्रकार सम्मेलनमा घाटामा रहेको भनिएको साझा यातायातलाई सरकारले किन विद्युतीय बस खरिद गर्न पैसा दिन लागेको भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता बाँस्कोटाले साझाले पनिे आफ्नो आर्थिक स्वास्थ्य सुधार गर्दै लैजानु पर्ने बताउनुभयो ।

सरकारले लगानी गरेपछि त्यसमा कसैले बेपर्वाह वा बेमतलब गरे त्यो सैह्य नहुने पनि बताउनुभयो । अहिले सरकार आफैले सार्वजनिक यातायात सञ्चालन गर्न सक्ने अवस्थामा नरहेकाले पनि साझालाई त्यसको जिम्मेवारी दिन लागिएको स्पष्ट पार्नुभयो ।

काठमाण्डौको ट्राफिक व्यवस्थापन चुस्त बनाउन र वातावरण प्रदूषण पनि कम गर्न ठूला विद्युतीय बस आवश्यक भएको उहाँले बताउनुभयो ।

साझाले केही गर्न थाल्यो भने झकझकाइ दिने तपाईँहरु हुँदै हुनुहुन्छ नि भन्दै प्रवक्ता बाँस्कोटाले मिडियाले पनि निरन्तर रुपमा आवाज उठाइदिन आग्रह गर्नुभयो । 
‘त्यहाँ केही बदमासी हुन थाल्यो भने तपाईँहरु हुनुहुन्छ नि । तपाईँहरुले निरन्तर निगरानी राखिदिए भइहाल्यो’, उहाँले भन्नुभयो ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया