भारतबाट पाइपमार्फत पठाइएको इन्धन शुक्रबार दिउँसो अमलेखगञ्ज आइपुग्ने

 साउन ३, २०७६ शुक्रबार ९:३८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा – भारतबाट पाइपलाइनमार्फत पठाइएको इन्धन शुक्रबार दिउँसो बाराको अमलेखगञ्ज आइपुग्ने भएको छ । परीक्षणको रुपमा पाइपलाइनबाट पठाइएको इन्धन दिउँसो बाराको अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको डिपोमा आइपुग्ने इञ्जिनियर शरद पौडेलले जानकारी दिनुभयो ।

परीक्षणका लागि बिहीबार पाइपलाइनमा भारतको मोतिहारीबाट एक सय ५० किलो लिटर डिजेल पठाइएको थियो । पाइपलाइनमा भएको हावाको चाप निकाल्न डिजेलभन्दा अघि एकसय ५० किलो लिटर पानी पनि पठाइएको थियो । पाइपबाट अहिले थोपाथोपा पानी र हावा बाहिर निस्कन थालेको पौडेलले जानकारी दिनुभयो ।

परीक्षणको रुपमा आउने इन्धन जम्मा गर्न एउटा टयांकी सफा गरी तयारी अवस्थामा राखिएको छ । परीक्षण जाँचका लागि भारतीय आयल निगमका १५ जना प्राविधिकको टोली अमलेखगञ्ज आयल निगमको डिपोमा काम गरिरहेका छन् ।

परीक्षण सफल भएपछि  दुई देशका प्रधानमन्त्रीले संयुक्तरूपमा उद्घाटन गरेर पाइपलाइनबाट औपचारिक रुपमा इन्धन ल्याउने काम सुरु गरिने आयल निगमले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया