भारतको पटनाबाट पठाइएको तेल अमलेखगञ्ज आइपुग्यो

 साउन ३, २०७६ शुक्रबार १३:५१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा – भारतबाट डिजेल र पेट्रोल ल्याउने पाइपलाइनको परीक्षण सफल भएको छ । पाइपलाइनमार्फत् १ हजार किलोलिटर डिजेल अमलेखगञ्ज डिपोमा रहेको ट्याङकीमा जम्मा गर्ने काम भइरहेको छ ।

बिहीबार दिउँसो १२ बजे भारतको पटनाबाट पाइपमा पठाउन सुरु गरिएको डिजेल  शुक्रबार मात्र अमलेखगञ्जमा आइपुगेको हो ।  शुक्रबार अमलेखगञ्ज डिपोमा एक हजार किलो लिटर डिजेल खसालिएको पेट्रोलियम पाइपलाइन आयोजनाका इञ्जिनियर शरद पौडेलले जानकारी दिनुभयो ।

शुक्रबार १ हजार किलोलिटर डिजेल ट्याङकीमा राखेपछि बन्द गर्ने र नेपाल र भारतका प्रधानमन्त्रीहरुले उद्घाटन गरेपछि नियमित रुपमा पाइपलाइनमार्फत् डिजेल ल्याइने  इञ्जिनियर पौडेलले बताउनुभयो ।

पाइपलाइन २४ घन्टा नै चलाएमा एकै दिन ४८ लाख लिटर डिजल नेपाल ल्याउन सकिने र यसले नेपालको माग धान्न सकिने निगमले जनाएको छ । 

पाइपलाइनबाट आउने डिजल भण्डारणको लागि अमलेखगञ्जमा ४१ लाख लिटर क्षमताका २ वटा र ३९ लाख लिटर क्षमताका २ वटा गरी १ करोड ६० लाख लिटर क्षमताका ४ वटा अत्याधुनिक टयांकी निर्माण भैसकेका छन् । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया