‘तँलाई यहाँ बस्ने अधिकार छैन’ भन्दै एक वडाध्यक्षद्वारा अर्काे वडाका अध्यक्षमाथि कुटपिट

 साउन ३, २०७६ शुक्रबार १५:१५:८ | शिव ढुंगाना
unn.prixa.net

आराेपित वडाध्यक्ष अजय लुईँटेल, वडा नं ८ - चम्पादेवी गाउँपालिका

ओखलढुंगा - चम्पादेवी गाउँपालिका-८ का वडाध्यक्ष अजय लुईँटेलले आफ्नै सहकर्मीमाथि कुटपिट गर्नुभएको छ ।लुईँटेलले गाउँपालिकाको कार्यालयमै वडा नम्बर ७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गर्नुभएको बताइएकाे छ ।   

थापाले आफू गाउँपालिकामा काम गरिरहेको अवस्थामा दिउँसो ३ बजे लुईँटेलले रक्सी पिएर कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दिनुभएको छ ।  उहाँले सार्वजनिक शान्तिविरुद्धको कुसरमा उजुरी दिनुभएको हो । उजुरीमा गाउँपालिका कार्यालयमा काम गरिरहेको अवस्थामा ‘तँलाई यहाँ बस्ने अधिकार छैन’ भन्दै एक्कासी कुटपिट गरेको उजुरीमा उल्लेख छ । 

लुईँटेलले अध्यक्ष थापासहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र सुब्बा ईश्वर ढुंगानालाई समेत कुटपिट गर्ने धम्की दिएको अडियो  रेर्कड स्थानीयले प्रहरीमा बुझाएका छन् । अडियोमा लुईँटेलले थापालाई कुटेको र प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत तथा सुब्बा ईश्वर ढुंगानालाई आफूले मागेको चेक नकाटेको भन्दै ठिक पार्छु भनेको सुन्न सकिन्छ । 

आफूलाई धेरै पटक धम्की आएको र पछिल्लो पटक ०७६ असार ३० गते आफूमाथि कार्यालयमै आक्रमण भएको पीडित थापाले बताउनुभयो । थापाको खुट्टामा चोट लागेको छ । 

लुईँटेलविरुद्ध अडियोसहित उजुरी आएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी पुष्पराज मल्लले बताउनुभयो । उहाँले उजुरी र अडियो सुनेपछि लुईँटेललाई हाजिर गराउन प्रहरी खटाइएको जानकारी दिनुभएको छ । । उजुरी पर्लुपछि आराेपित लुईँटेल सम्पर्कविहीन हुनुभएको छ । 
 

अन्तिम अपडेट: चैत २३, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया